सुनिता शर्मा,परिचय/पोखरा,
पोखराको जाडो मौसममा शनिबारको दिन एउटा न्यानो र उत्साहजनक माहोल सिर्जना भएको थियो । सन्दर्भ थियो, समाज रूपान्तरणमा लागेका नारीहरूको सम्मान र संस्थागत उत्सव । पोखराको सामाजिक वृत्तमा अग्रणी स्थान ओगटेको ‘नारी उत्थान दिदीबहिनी समूह’ ले आफ्नो १२ औं साधारणसभा तथा छैठौं अधिवेशनको छेको पारेर गण्डकी प्रदेशको सञ्चार क्षेत्रको नेतृत्व गरिरहेकी एक सशक्त हस्ताक्षरलाई सम्मानको घेरामा उभ्यायो । उनी थिइन, गण्डकी प्रदेश सरकारको प्रेस रजिष्ट्रार कार्यालयकी प्रेस रजिष्ट्रार, वरिष्ठ सञ्चारकर्मी एवम् समाजसेवी बिमला भण्डारी ।
नारी उत्थान दिदीबहिनी समूहद्वारा स्थापित ‘नारी उत्थान दिदीबहिनी समाजसेवा पुरस्कार–२०८२’ ग्रहण गरिरहँदा बिमला भण्डारीको अनुहारमा देखिएको चमक केवल एउटा पुरस्कार पाएको खुसी मात्र थिएन, त्यो त दशकौंदेखि समाजसेवा र पत्रकारिताको कर्मभूमिमा बगाएको पसिनाको इमानदार अनुमोदन थियो ।
बिमला भण्डारीलाई चिन्नेहरूले उनलाई केवल ‘प्रेस रजिष्ट्रार’ को सरकारी ओहोदामा मात्र सीमित राखेर हेर्दैनन् । उनको परिचय त्योभन्दा निकै फराकिलो छ । एकातिर उनी पत्रकारिताको धर्म निभाउँदै समाजका विकृति र विसङ्गतिविरुद्ध खबरदारी गर्ने ‘वाचडग’ हुन भने अर्कोतिर दिनदुखीको घाउमा मलम लगाउने र नारी सशक्तीकरणको बिगुल फुक्ने एक अथक सामाजिक अभियन्ता पनि हुन् ।
शनिबार आयोजित समारोहमा उनलाई ११ हजार रुपैयाँ राशिसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिँदा, उपस्थित सयौं दिदीबहिनीहरूको तालीको गडगडाहटले उनको लोकप्रियतालाई पुष्टि गरिरहेको थियो । सञ्चारकर्म आफैंमा एउटा समाजसेवा हो, तर बिमलाले सञ्चारकर्मको दायराभन्दा बाहिर निस्केर प्रत्यक्ष समाजसेवामा समेत आफूलाई समाहित गरेकी छन् । उनको यही बहुआयामिक व्यक्तित्वको कदर स्वरूप यसपटकको प्रतिष्ठित पुरस्कार उनलाई प्रदान गरिएका आयोजकले जानकारी दिएको छ ।
कुनै पनि पुरस्कारको गरिमा तब बढ्छ, जब त्यो सही व्यक्तिको हातमा पर्छ । यसपटकको ‘नारी उत्थान दिदीबहिनी समाजसेवा पुरस्कार’ का सन्दर्भमा पनि यही भयो । प्रतिभा छनोट समितिका संयोजक तथा वरिष्ठ साहित्यकार (छन्दनायक) माधव वियोगी का शब्दमा भन्दा ‘बिमला भण्डारीको छनोट केवल एक व्यक्तिको छनोट होइन, यो समाजसेवा र पत्रकारितामा समर्पित एउटा ‘प्रेरणादायी बिम्ब’ को सम्मान हो ।’
संयोजक वियोगीले प्रष्ट पारे, ‘समाजसेवा र पत्रकारिताका विविध विधामा बिमला भण्डारीले दिइएको विशिष्ट योगदान समकालीन पुस्ता र आउँदो पुस्ताका लागि अनुकरणीय छ । उनको यही अतुलनीय योगदानको कदर गर्दै हामीले सर्वसम्मत रूपमा उनको नाम सिफारिस गरेका हौं ।’ छनोट समितिमा संस्थाकी तत्कालीन अध्यक्ष जानुका पौडेल, प्रमुख संरक्षक सरिता घिमिरे र अधिवक्ता जानकी शर्माजस्ता प्रबुद्ध व्यक्तित्वहरूको सहभागिताले पनि यो पुरस्कारको पारदर्शिता र निष्पक्षतालाई पुष्टि गर्छ । विगतमा समाजसेवी सुष्मा पौडेल र विना सिलवालजस्ता व्यक्तित्वहरूले प्राप्त गरिसकेको यो पुरस्कारको विरासतलाई बिमला भण्डारीको नामले अझ उचाइमा पु¥याएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ समाजसेवी झपिन्द्रराज रेग्मी ले पुरस्कार अर्पण गर्दै व्यक्त गरेको विचार मननयोग्य थियो, उनले भने, ‘नारी उत्थान दिदीबहिनी समूहको उद्देश्य केवल पुरस्कार बाँड्नु मात्र होइन, समाज विकासमा नारीहरूको संलग्नता बढाउनु हो । आज बिमला भण्डारीजस्तो योग्य प्रतिभालाई पुरस्कृत गर्न पाउँदा संस्थाको उद्देश्य सार्थक भएको महसुस भएको छ ।’
संस्थाकी संस्थापक अध्यक्ष एवम् प्रमुख संरक्षक सरिता घिमिरेको भनाइमा बिमला भण्डारी नारी सशक्तीकरणको एउटा बलियो खम्बा हुन् । ‘हामीले खोजेको पात्र उहाँ नै हो, जसले आफ्नो पेसागत धर्म निभाउँदै समाजलाई पनि केही दिने भावना राख्छ,’ घिमिरेले भनिन । संस्थाको गरिमा बढाउन र नारीहरूको हकहित संरक्षणमा बिमलाको भूमिका सधैं प्रशंसनीय रहेको आयोजकको ठहर छ ।

पुरस्कार र सम्मानले मानिसलाई थप जिम्मेवार बनाउँछ । सम्मान ग्रहण गरेपछिको मन्तव्यका क्रममा बिमला भण्डारी निकै भावुक र विनम्र देखिइन, आफ्नो सफलताको श्रेय आफैंमा सीमित नराखी उनले आफ्नो धरातल स्मरण गरिन ।
गला अवरुद्ध पार्दै उनले भनिन, ‘यतिबेला म आफ्ना जन्मदिने मातापिता र घरपरिवारलाई सम्झिरहेकी छु, जसले मलाई छोरी मान्छेले पनि केही गर्न सक्छन् भनेर विश्वास गरे र यस क्षेत्रमा लाग्न निरन्तर प्रेरित गरिरहे । ’ उनको यो अभिव्यक्तिले पूर्वीय संस्कार र पारिवारिक मूल्यमान्यताप्रतिको उहाँको निष्ठालाई झल्काउँथ्यो । ‘यो पुरस्कार मेरा लागि गन्तव्य होइन, अझ बढी समाजसेवा र राष्ट्रका लागि समर्पित हुने ऊर्जा हो,’ उनको प्रतिबद्धता थियो ।
बिमला भण्डारीलाई सम्मान गरिएको सोही समारोहले ‘नारी उत्थान दिदीबहिनी समूह’ को नयाँ नेतृत्व पनि चयन गरेको छ । अध्यक्ष जानुका पौडेलको कार्यकाल सफल रूपमा सम्पन्न भएसँगै शारदा सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिमा उपाध्यक्ष शान्ति थापा, सचिव पार्वती अधिकारी, सहसचिव रीता सुवेदी, कोषाध्यक्ष पुनम थापा (जमुना) लगायतका जुझारु महिलाहरूको आगमनले संस्थाले आगामी दिनमा अझ रचनात्मक काम गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा सचिव शारदा सुवेदीको सञ्चालन, सहसचिव मुना सुवेदीको स्वागत र कोषाध्यक्ष सुशीला पराजुलीको आर्थिक प्रतिवेदन प्रस्तुतिले संस्थाको लोकतान्त्रिक अभ्यास र पारदर्शितालाई उजागर गरेको थियो । साथै, समाजसेवीहरू बुद्धिबहादुर थापा, भुवानी भट्टराई, कृष्ण खत्री, प्रेमराज अधिकारी, शान्ति थापा, नारायण भट्टराई, देवीबहादुर थापा, जानकी शर्मा, शिवराज न्यौपाने र शुकदेव गौतम लगायतको उपस्थितिले बिमला भण्डारीको सम्मान समारोहलाई एउटा भव्य सामाजिक उत्सवमा परिणत गरिदिएको थियो ।
गण्डकी प्रदेशमा प्रेस रजिष्ट्रारको भूमिकामा रहेर मिडिया क्षेत्रको नियमन र विकासमा अहोरात्र खटिएकी बिमला भण्डारीलाई प्रदान गरिएको ‘नारी उत्थान दिदीबहिनी समाजसेवा पुरस्कार–२०८२’ सही अर्थमा ‘सही व्यक्तिलाई सही सम्मान’ हो ।
यो पुरस्कारले एउटा सन्देश दिएको छ, यदि तपाईं इमानदार भएर कर्ममा लाग्नुहुन्छ भने, पद र प्रतिष्ठाले मात्र होइन, समाजले पनि तपाईंलाई खोजीखोजी सम्मान गर्छ । बिमला भण्डारीको यो सम्मान उनको व्यक्तिगत जित मात्र होइन, गण्डकी प्रदेशका तमाम कर्मशील छोरीहरूको जित हो । कलमको मसी नसुक्दै समाजसेवामा पसिना बगाउन सक्ने उनको यो तत्परताले आगामी दिनमा अझ ठूला उपलब्धिहरू हासिल गरोस् । नेपाल पत्रकार महासंघ कास्की शाखाकी पहिलो महिला अध्यक्ष र गण्डकी प्रदेश सरकार प्रेस रजिष्ट्रारको कार्यालयकी प्रथम प्रेस रजिष्ट्रार बिमला भण्डारीको यो अनवरत यात्रामा ‘नारी उत्थान’ को यो सम्मान कोसेढुङ्गा साबित भएको छ । हार्दिक बधाई तथा शुभकामना !