पोखरा,
पोखराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बिन्ध्यवासिनी मन्दिरमा आज (आइतबार) देखि नवदुर्गा महोत्सव सुरु भएको छ। आइतबार बाजागाजा, र्याली र झाँकी र सांस्कृतिक कार्यक्रम सहित धार्मिक महोत्सवको सुरुवात गरिएको हो । बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा सुरु भएको महोत्सवलाई सभ्य, भव्य, सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्ने तयारी गरिएको छ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बिन्ध्यवासिनी मन्दिरको महिमा उजागर गर्दै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। वि.सं. २०६४ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको नवदुर्गा महोत्सवले धर्म, संस्कृति, परम्परा र सामाजिक सद्भावलाई जोड्ने अपेक्षा गरिएको समितिले जनाएको छ।
समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठका अनुसार बिन्ध्यवासिनी मन्दिर पोखराको धार्मिक आस्थाको केन्द्र मात्र नभई गलेश्वर–मुक्तिनाथ जाने धार्मिक यात्राको महत्वपूर्ण प्रवेशद्वारसमेत हो। मन्दिरको संरक्षण र विकासलाई पोखराको समग्र पर्यटनसँग जोड्दै धार्मिक पर्यटनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने लक्ष्य रहेको उनले बताए।
महोत्सवअन्तर्गत बिन्ध्यवासिनी नवदुर्गा शोभायात्रा र श्रीमद् देवीभागवत ज्ञान महायज्ञ मुख्य आकर्षणका रूपमा रहनेछन्। घटस्थापनादेखि महानवमीसम्म सञ्चालन हुने महायज्ञमा कथा वाचकका रूपमा स्वामी निर्भयानन्द गुरुज्यू र उपवाचकका रूपमा अनुकूल ढकाल रहनेछन्।


महानवमीका दिन बिहान ७ बजे बिन्ध्यवासिनी पार्कबाट नवदुर्गा शोभायात्रा निकालिनेछ। शोभायात्रा मोटरगेट, भैरवटोल, भीमसेनटोल, नालामुख, तेर्सापट्टी, पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोल र गणेशटोल हुँदै पुनः बिन्ध्यवासिनी मन्दिर परिसरमा पुगेर सम्पन्न हुनेछ।
महायज्ञ अवधिभर बिहान ९ बजेदेखि १२ बजेसम्म संगीतमय कथा प्रवचन, दिउँसो १२ बजेदेखि २ बजेसम्म भजन–कीर्तन र दिउँसो २ बजेदेखि ४ बजेसम्म पुनः संगीतमय कथा प्रवचन सञ्चालन हुनेछ। प्रत्येक दिन साँझ ६ बजे महाआरती आयोजना गरिनेछ।
विजयादशमीको अवधिभर मन्दिरमा बिहान ४ बजेदेखि नित्य पूजा सुरु हुनेछ भने भक्तजनका लागि बिहान ५ बजेदेखि मन्दिर खुला गरिने समितिले जनाएको छ।
कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहको पालामा करिब अढाई शताब्दीअघि स्थापना भएको मानिने बिन्ध्यवासिनी मन्दिर ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा परिचित छ। मन्दिर परिसरमा बिन्ध्यवासिनी मातासहित गणेश, हनुमान, राधाकृष्ण, शिव, सरस्वती, अष्टचिरञ्जीवी र नवग्रहका मन्दिर रहेका छन्। गुरुकुल, सन्तनिवास, सभाभवन, बिन्ध्यवासिनी वाटिका र शिवानन्द कुण्डलगायतका संरचनाले यस क्षेत्रको धार्मिक आकर्षण थप बढाएका छन्।
समितिले धार्मिक गतिविधिसँगै शिक्षा, स्वास्थ्य र समाजसेवालाई पनि प्राथमिकता दिँदै आएको छ। गुरुकुल विद्याश्रम, प्राकृतिक चिकित्सा केन्द्र तथा ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा रहेका छन्। अशक्त तथा अपाङ्गता भएका भक्तजनलाई सहज दर्शनको व्यवस्था गर्न लिफ्ट सेवासमेत सञ्चालन गरिएको समितिले जनाएको छ।
महोत्सवमा ठूलो संख्यामा भक्तजन तथा श्रद्धालु सहभागी हुने अपेक्षा गरिएकाले सुरक्षा, यातायात, स्वास्थ्य सेवा, सरसफाइ, खानेपानी, विद्युत् तथा भीड व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गरिने समितिका महासचिव सुशीला बराल पराजुलीले बताइन्।
महोत्सवले नयाँ पुस्तालाई धर्म, संस्कृति, संस्कार र परम्परासँग परिचित गराउनुका साथै पोखराको धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास आयोजकले लिएको छ। समितिले सबैको सहकार्यमा महोत्सवलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्ने जनाएको छ।