सुचना, समाचार र मनोरन्जन

पीआरकी अभिनेत्री बिनितालाई प्रश्न : फिल्ममा काम गर्ने सपना थियो कि,अवसर पाइयो खेलौन भन्ने हो ?

काठमाडौं :

विदेशमा बसेर पनि नेपाली फिल्ममा अभिनय गरेकी कलाकार हुन् बिनिता कार्की। उनी मोडलिङ गर्दै नेपाली फिल्ममा प्रवेश गरेकी हुन्। यहि मंसिर २६ गतेबाट अलनेपाल फिल्म ‘पीआर’ हलमा लाग्दैछ। यसको प्रचारप्रसारका लागि उनी नेपाल आइपुगेकी छन्। उनका अनुसार अष्ट्रेलिया पुगेको नेपाली युवाको कथालाई फिल्मले बोल्ने छ।

सानो छँदा सुपरस्टार रेखा थापा,झरना थापा,निरुता सिंहको अभिनय र डान्स हेरेर हुकिएकी उनको सपना अभिनेत्री बन्ने थियो। अहिले शोभित बस्नेतको फिल्म ‘पीआर’मा मुख्य भुमिकामा अभिनय गर्न पाउँदा उनी दंग छिन्।

उनी यो फिल्म सक्सेस भएको खण्डमा नेपालमा नै बसेर अभिनय यात्रालाई अगाडी बढाउने सोचमा छिन्। यस फिल्मको गीत र ट्रेलरले राम्रै चर्चा पाइरहेको अवस्थामा उनी यो फिल्मले दर्शकको मन जित्नेमा ढुक्क देखिन्छिन्। उनीसँग गरिएको छोटो कुराकानी यस प्रकार छ।

फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा कस्तो महशुस गरिरहनुभएको छ?

अलि अलि डर,अलिअलि खुशी भइरहेको छु। उत्साहित छु।

तपाईको पहिलो फिल्म हो? यो फिल्ममा चाही कसरी प्रवेश भयो?

म चाहीँ फेसबुकमार्फत जोडिएको हो। फेसबुकमा चाहीँ मलाई एक जना दिदीले मेन्सन गरिदिनुभएको थियो। उहाँले गरिदिनुभएको मेन्सनकै आधारमा यो फिल्मसम्म आइपुगेको हो।

मेन्सनमार्फत जोडिए भन्नुभयो?अलिक विस्तारमा भनिदिनुन ?

यो फिल्मको अडिसन चल्दैछ भन्ने कुरा थाहा पाएपछि म अडिसनका लागि गए। अडिसनमा मलाई तिमी सेलेक्सट भयौ भन्नुभयो। तर उहाँहरुले फिल्ममा खेलाई हाल्छौँ भन्ने कुरा गर्नुभएन। सेलेक्ट भए पनि अझैँ हामी इन्टरभ्यु लिन्छौँ भन्नुभयो। अनि थाहा हुन्छ कि तिमीले फिल्ममा अभिनय गर्न सक्छाँै भन्दैनौ भन्ने कुरा निर्देशक शोभित बस्नेतले भनेपछि,मैले इन्टरभ्यु पनि दिए। त्यसमा पास भएपछि बल्ल यो फिल्ममा काम गर्न पाएको हो।

सेलेक्स भइसकेपछि त धेरै खुशी हुनुभयो होला है?

अब फिल्ममा काम गर्न पाउने कुरा भएपछि खुशी नहुने कुरै भएन नि। मेरो सपना नै अभिनेत्री बन्ने थियो। त्यो सपना पीआरमा पुरा भयो।

तपाई फिल्ममा आउनुभन्दा अघि मोडलिङ पनि गर्नुहुन्थ्यो रे भन्ने सुनिएको थियो। के हो वास्तविकता ?

हो,म फिल्ममा आउनुभन्दा अघि मोडलिङ पनि गर्थेँ,सन् २०१८ तिर। यो नेपालमा हुँदा कै कुरा हो। अष्ट्रेलिया गएपछि अलिक समय दिन भ्याइरहेको थिइनँ।

फिल्ममा काम गर्ने सपना थियो कि,अवसर पाइयो खेलौन भन्ने हो?

फिल्ममा काम गर्न कसको सपना हुँदैन र?मेरो पनि एउटा सपना थियो। नेपालमा नै केहि गर्छु भन्दा भन्दै परदेशिए। परदेशिएता पनि उतै केहि गर्छु भन्ने भएको थियो। अभिनेत्री बन्छु भन्ने सपना ममा बाँकी नै थियो। त्यो पीआरबाट सुरुवात भएको छ। अर्को कुरा म तपाईको कुरासँग जोडीहाल्छु। सानोमा म रेखा थापा,निरुता सिंह,झरना थापाले फिल्ममा नाचेको टिभीमा देख्थेँ। त्यो देखेपछि म पनि उहाँहरुको जस्तै नाच्नका लागि ट्राइ गर्थेँ। उहाँहरुले फिल्ममा गरेको अभिनय घरको ऐना हेरेर गर्थे। त्यसले पनि मलाई अभिनयका लागि प्रेरित गरेको थियो।

अभिनय चाहीँ कतै सिक्नुभयो कि छैन?

छैन,कतै पनि सिक्ने मौका पाइनँ।

अभिनय नसिकेन पनि फिल्ममा काम गर्न कतिको सहज हुने रैछ?

डिरेक्टर राम्रो हुनुभयो भने सहज हुने रैछ। डिरेक्सन गर्ने मान्छेले हौसला दिएपछि,म पनि अभिनय गर्न सक्छु भन्ने आँट आउदो रहेछ। जुन आँट मलाई निर्देशक शोभित बस्नेत सरले दिनुभयो। साथै राम्रो टिम भयो भने अभिनय गर्न गाह्रो हुँदैन भन्ने फिल भयो।

मोडलिङ गर्दै फिल्ममा प्रवेश गर्नुभएको छ। अब कलाकारितालाई नै निरन्तरता दिनुहुन्छ कि,दिनु हुँदैन?के छ बिचार?

अब फिल्ममा नै काम गर्छु भन्ने छ। त्यस बाहेक अरु केहि पनि सोचेको छैन मैले।

अन्तमा दर्शकलाई के भन्न चाहानुहुन्छ?

दर्शकलाई हाम्रो फिल्म यहि मंसिर २६ गतेबाट हलमा लाग्दैछ। फिल्म हेरेर कस्तो लाग्छ,त्यस्तै प्रतिक्रिया दिनु होला भन्न चाहान्छु।

Leave A Reply

Your email address will not be published.