काठमाडौं :
फिल्म ‘रोल नं १’ को व्यापारमा दोस्रो हप्ताको सुरुवातसँगै उल्लेख्य वृद्धि भएको छ। बलियो ‘वर्ड अफ माउथ’ (दर्शकको सकारात्मक प्रतिक्रिया)का कारण निर्माण पक्ष उत्साहित छ।
बालमनोविज्ञान र विद्यमान शैक्षिक मूल्यांकन पद्धतिको कथामा निर्माण भएको यो फिल्मलाई काठमाडौं उपत्यका र मोफसल दुवैतर्फ फिल्म हेर्ने दर्शकको चाप उच्च देखिएपछि निर्माण पक्ष उत्साहित बनेका छन्।
शनिबार काठमाडौं उपत्यकाका हलहरूमा ८० प्रतिशतभन्दा बढी अकुपेन्सी देखिएको छ भने केही प्राइम शोहरू पूर्ण रूपमा हाउसफूल भएका छन्। यस्तै, उपत्यकाबाहिर पनि चलचित्रले ४५ प्रतिशतभन्दा माथिको अकुपेन्सी कायम गरेको छ। साँझका अधिकांश शोहरूका लागि दिउँसैदेखि उच्च बुकिङ भइसकेको वितरण तथा निर्माण पक्षले जनाएको छ।
यस फिल्मको व्यापारमा आएको यो सुधारप्रति खुसी व्यक्त गर्दै निर्माता विनोद पौडेलले बामे सरेको फिल्म हिड्न थालेको भन्दै उत्साहित बनेका छन्। यनी भन्छन्,“हिजोसम्म बामे सरेको हाम्रो सिनेमा रोल नं १ आजबाट हिँड्न सुरु गर्यो।”
सिनेमा हेर्ने दर्शक, विशेष गरी विद्यार्थी, शिक्षक र अभिभावकले फिल्मको विषयवस्तुलाई लिएर सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो फिल्मलाई जोन योञ्जनले निर्देशन गरेका हुन् भने यसको लेखन महेश दवाडीले गरेका हुन्। फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। त्यस्तै, बाल–कलाकारहरू निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठको पनि मुख्य अभिनय रहेको छ।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको यस चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्। शिवराम श्रेष्ठको छायांकन, प्रशान्त शिवाकोटीको संगीत र मदन घिमिरेको सम्पादन रहेको छ।