काठमाडौं :
घोषणा गरिएको दुई वर्षपछि नेपाली फिल्म ‘काजी’ अन्ततः निर्माणमा जान लागेको छ। लक्ष्मण रिजालको निर्देशनमा बन्ने फिल्म ‘काजी’ को छायांकन आगामी भदौ महिनाबाट सुरु हुने तयारीमा छ। अहिले फिल्मको प्रि-प्रोडक्सन अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ।
फिल्म ‘काजी’ को स्क्रिप्ट प्रदीप भारद्वाजले लेखेका हुन्। सुरुवातमा भारद्वाजले उक्त स्क्रिप्टमा निर्देशन गर्ने तयारी गरे पनि पछि योजना परिवर्तन गरी स्क्रिप्ट रिजाल टिमलाई हस्तान्तरण गरिएको हो।
रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मका निर्माता रामप्रसाद रिजाल हुन्। यसै ब्यानरले ‘डिसेम्बर फल्स’, ‘गणपति’, र ‘कायरा’ जस्ता फिल्म निर्माण गरिसकेको छ। यसअघि विपिन कार्की र केकी अधिकारीले फिल्म ‘प्रसाद २’ मा सहकार्य गरिसकेका छन्। अब ‘काजी’ मा पुन: उनीहरूको जोडी देखिन लागेको छ।
