नयाँ दिल्ली :
भारतको सर्वोच्च अदालतले विवादास्पद हिन्दी फिल्म ‘उदयपुर फाइल्स’ को प्रदर्शनमा रोक लगाएको छ। अदालतले सोमवारको सुनुवाइमा केन्द्र सरकारले फिल्मको प्रमाणिकरणमाथि स्पष्ट निर्णय नलिएसम्म रिलिजको अनुमति नदिने स्पष्ट पारेको हो।
भारतिय मिडियाका अनुसार अदालतले फिल्म प्रदर्शनसम्बन्धी याचिकाको अन्तिम सुनुवाइ अब २१ जुलाई (साउन २९)लाई तय गरेको छ। यसअघिको आदेशअनुसार, चलचित्रलाई सर्टिफिकेट दिएको फिल्म प्रमाणन बोर्डको निर्णयमा पुनरावलोकनका लागि केन्द्र सरकारमाथि जिम्मेवारी तोकिएको थियो।
केन्द्रीय सूचना तथा प्रसारण मन्त्रालयले चलचित्र ‘धार्मिक विद्वेष फैलाउने सम्भावना’ रहेको भन्दै स्वतन्त्र समीक्षा थालिसकेको बताइएको छ।
फिल्मको विषय र विवाद
‘उदयपुर फाइल्स’ सन् २०२२ मा राजस्थानको उदयपुरमा कन्हैयालाल टेलरको हत्या घटनामा आधारित छ। निर्माताहरूका अनुसार,फिल्मले धार्मिक कट्टरता र आतंकवादको विरुद्ध सन्देश दिन खोजिएको छ। तर विरोधी पक्षले फिल्मले घृणा र विभाजन बढाउने सामग्री समावेश गरेको दाबी गर्दै अदालतमा मुद्दा दायर गरेका छन्।
यसअघि दिल्ली उच्च अदालतले १० जुलाईमा फिल्मको रिलिज रोक्दै केन्द्रलाई निर्णय लिन आदेश दिएको थियो। निर्माताहरूले उक्त आदेश सर्वोच्च अदालतमा चुनौती दिएका थिए।
याचिकाकर्ता तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता कपिल सिब्बलले फिल्ममा ५५ पटक सम्पादन भएपनि त्यसमा अझैपनि ‘नफरतपूर्ण दृश्य र संवाद’ रहेको अदालतमा बताएका थिए। सोही कारण यसको काम रोकिन पुगेको हो।
पुनः सुनुवाइ २१ जुलाईमा
भारतिय मिडियाका अनुसार सर्वोच्च अदालतले सोमबारको सुनुवाइमा फिल्म रिलिजमाथि तत्काल निर्णय नदिँदै आगामी सुनुवाइमा मात्र अन्तिम आदेश जारी गरिने संकेत दिएको छ। त्यतिबेलासम्म फिल्म कुनै पनि माध्यमबाट सार्वजनिक गर्न पाइने छैन। त्यसका लागि फिल्म हेर्नका लागि दर्शकले अझै केहि महिना कुर्नुपर्ने देखिन्छ।
