काठमाडौं :
विराज भट्टको मुख्य भुमिकामा निर्माण भएको फिल्म ‘राम नाम सत्य’ले ४ करोड ६२ लाखभन्दा माथीको व्यापार गरेको निर्माण पक्षको दाबी छ। चलचित्र विकास बोर्डले शनिबारसम्मको २ करोड ८० लाख व्यापार गरेको तथ्याङ सार्वजनिक गरेको थियो। सोही अनुसार यस फिल्मका वितरक गोविन्द शाहीले बक्स अफिसमा सोमबारसम्म ३ करोड २० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको बताए।
बोर्डको आँकडामा फिल्मको कमाई करिब २ करोड ८० लाख रहेता पनि केही हलको आँकडा बोर्डमा नजोडिने भएकाले पनि वितरकको हिसाबमा भने व्यापार केही माथि भएको वितरक शाहीको भनाई छ। यस्तै, यो फिल्मले अमेरिकाबाहेक विदेशी बजारबाट ७० लाख रुपैयाँ आम्दानी गरिसकेको निर्माता उपेन्द्र शाहीले बताए । अमेरिकाका विभिन्न शहरमा अप्रिल २४ तारिखबाट यो फिल्म २०० शोज सहित चल्दैछ। निर्माणपक्षले अमेरिकामा फिल्मलाई शेयर प्रतिशतमा विक्री गरेको हो । अमेरिकाबाट पनि फिल्मका निर्माताले राम्रो रकम प्राप्त गर्ने अपेक्षा गरेका छन्।
ओएसआर डिटिजलबाट फिल्मलाई ७२ लाख रुपैयाँ प्राप्त भएको जानकारी निर्देशक माइकल चन्दले दिएका छन्। डिजिटल राइट्स ७२ लाखमा विक्री गरेकाले पनि निर्माणपक्षलाई फाइदा भएको देखिन्छ। ३ करोड बजेटमा बनेको यो फिल्मबाट आफूहरु सुरक्षित हुने बाटोमा लागेको निर्देशक चन्दको भनाई छ। स्वेता विमली र उपेन्द्र शाहीको निर्माणमा तयार भएको यो फिल्ममा विराज भट्ट,सुशील श्रेष्ठ,दिव्या रायमाझी, सुपुष्पा भट्ट,आयुष सिंंह ठकुरी,खुशी कार्की,सुनील थापा,प्रशान्त ताम्राकार लगायतका कलाकारहरुको अभिनय छ।
फिल्मको व्यापारबाट उत्साहित भएको निर्माणपक्षले बताएको छ। पछिल्लो समयमा रिलिज भएका नेपाली फिल्महरुले व्यापार सुखद नगरिरहेको समयमा यो फिल्मले भने बक्स अफिसमा आशा जगाएको छ ।