सुचना, समाचार र मनोरन्जन

पोखरा पंछी समाजको पाँचौँ समर बर्ड हाइक कार्यक्रम सम्पन्न

पोखरा, 
पोखरा पंछी समाजको आयोजनामा पाँचौँ समर बर्ड हाइक भएको छ । पोखराबाट धम्पुस हुँदै पोथना, प्रितम देउराली तथा आसपासका क्षेत्रमा गरिएको हाइकिङ तथा पंक्षी अवलोकनमा पन्छी समाजका ३२ सदस्य सहभागी थिए ।

धम्पुसबाट शनिबार बिहानै सुरु भएको कार्यक्रममा करिब ३ घन्टाको अवधिमा ६३ प्रजातिका चरा अभिलेख गरिएको छ । यस क्षेत्रमा पाइने विभिन्न प्रजातिका चरा प्रत्यक्ष अवलोकन तथा पहिचान गर्दै सहभागीले चराको बासस्थान, व्यवहार र संरक्षणका विषयमा समेत ज्ञान आदानप्रदान गरे । हाइकमा गएकाहरु आइतबार पोखरा फर्किएका छन् ।

कार्यक्रममा सहभागी पोखरा पंछी समाजका सल्लाहकार तथा नेपाल ओर्निथोलोजिकल युनियनका अध्यक्ष हटन चौधरीले यस्ता कार्यक्रमले चराप्रति रुचि बढाउनुका साथै स्थानीय स्तरमा पक्षी संरक्षण र जैविक विविधताको महत्वबारे जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विचार राखे ।

पोखरा पंछी समाजले हरेक वर्ष समर र विन्टर गरी दुई वटा बर्ड हाइक तथा एक पटक बर्ड फेयर आयोजना गर्दै आएको छ । पाँचौँ शृंखलासम्म आइपुग्दा बर्ड हाइकप्रति पंक्षीप्रेमी तथा प्रकृतिप्रेमीको उत्साह बढ्दै गएको छ ।

कार्यक्रममा सहभागी ठाकुर बरालले आफू पंछी अवलोकनमा नयाँ भए पनि पोखरा पन्छी समाजले आयोजना गरेको कार्यक्रमबाट निकै प्रभावित भएको विचार राखे । “म पंछी अवलोकनमा नयाँ हुँ, तर यस प्रकारको कार्यक्रमबाट म निकै प्रभावित भएको छु। आगामी दिनमा सम्भव भएसम्म समाजले आयोजना गर्ने हरेक कार्यक्रममा सहभागी हुने प्रतिबद्धता व्यक्त गर्दछु। आजको कार्यक्रममा चराहरू पहिचान गर्ने केही आधारभूत ज्ञान पनि प्राप्त गर्ने अवसर पाएँ। आगामी दिनमा पक्षी तथा तिनको बासस्थान संरक्षणका लागि जनचेतना फैलाउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु।”

पंछी समाजका सचिव हेमन्त ढकालले चरा र प्राकृतिक बासस्थानको संरक्षण तथा पंक्षीसम्बन्धी ज्ञान र अनुभव आदानप्रदान गर्न कार्यक्रम भएको जनाए । नियमित बर्ड हाइकले स्थानीय समुदाय तथा युवालाई पक्षी संरक्षण अभियानसँग जोड्न सघाउने उनको अपेक्षा छ ।

कार्यक्रमको नेतृत्व समाजकी उपाध्यक्ष हिरा मल्ल र समन्वय कृपा गुरुङले गरेका थिए । पोखरा पंछी समाजले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै पोखरा क्षेत्रलाई पंक्षी तथा जैविक विविधता संरक्षणको महत्वपूर्ण गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.