काठमाडौं :
नेपालमा फिल्म प्रदर्शनका समयमा आरोप पत्यारोप चलिरहन्छ। तर फिल्म प्रदर्शनका समयमा समेत एकअर्काबीच बेला बेलामा झडप पनि हुने गरेका छन्। यदि झडप भएको खण्डमा फिल्मकर्मी तथा कलाकार आफैले रोक्नुपर्ने भएको छ। चलचित्र विकास बोर्डले विशेष प्रदर्शन, च्यारिटी शो र प्रचारप्रसारको क्रममा हुनसक्ने सम्भावित घटना, झडप, दुर्घटनालाई रोक्न आवश्यक सुरक्षाको प्रबन्ध निर्माता, वितरक, प्रदर्शक वा कलाकार आफैंले गर्नुपर्ने बताएको छ।
मंगलबार चलचित्र क्षेत्रका नौ संघसंस्थालाई पत्र लेख्दै बोर्डले सार्वजनिक प्रदर्शनको क्रममा कलाकार दर्शकमाझ जाँदा हुनसक्ने झडपलाई रोक्न ध्यानाकर्षण गराएको हो।
बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार चलचित्रका निर्माता, वितरक, प्रदर्शक वा कलाकार आफैंले सुरक्षा व्यवस्थाको आवश्यक प्रबन्ध मिलाउने व्यवस्था कार्यान्वयन गर्न, गराउन सहयोग गर्नु भई चलचित्र क्षेत्रको अनुशासन, मर्यादा र यसको गरिमा जोगाइराख्ने कार्यमा सबैको सहयोग र सहकार्यको लागि अनुरोध गरिएको छ।दुई साताअघि भारतको हैदरावादमा ‘पुष्पा २’ को विशेष प्रदर्शनका क्रममा भएको दुर्घटनामा एक महिलाको निधन भएको थियो भने थुप्रै घाइते भएका थिए।