काठमाडौं :
पुराना नेपाली दश फिल्म चलचित्र विकास बोर्डको हलमा प्रदर्शन हुने भएका छन्। बोर्डको २६औँ वार्षिकोत्सवका अवसरमा ‘ओल्ड इज गोल्ड’ शीर्षकमा पुराना नेपाली फिल्मको प्रदर्शन गर्ने भएको हो।
नेपाली भाषाका चलचित्रको ऐतिहासिक विरासतको संरक्षण, प्रवद्र्धन तथा नयाँ पुस्तालाई पुराना फिल्मसँग परिचित गराउने उद्देश्यले साउन २२ गतेदेखि २७ गतेसम्म बोर्डको हलमा प्रदर्शन गर्न लागिएको बोर्डले जानकारी दिएको हो।
तत्कालीन शाही नेपाली चलचित्र संस्थानबाट निर्माण भएका तथा बोर्डको चलचित्र संग्रहालयमा डिजिटाइज गरी सुरक्षित राखिएका फिल्मलाई पुनः प्रस्तुत गर्न लागिएको हो। पहिलो दिन साउन २२ गते शुक्रबार दिउँसो १२ बजे हिरासिंह खत्री निर्देशित ‘आमा’ प्रदर्शन हुनेछ। साउन २३ गते शनिबार बिहान ११ बजे प्रकाश थापा निर्देशित ‘सिन्दुर’ र दिउँसो २ बजे हिरासिंह खत्री निर्देशित ‘परिवर्तन’ देखाइनेछ।
साउन २४ गते आइतबार बिहान ११ बजे प्रकाश थापा निर्देशित ‘मनको बाँध’ तथा दिउँसो २ बजे प्रदीप रिमाल निर्देशित ‘के घर के डेरा’ प्रदर्शन हुनेछ । साउन २५ गते सोमबार दिउँसो १२ बजे प्रेमबहादुर बस्न्यात निर्देशित ‘कुमारी’ देखाइने कार्यक्रम छ। त्यसैगरी, साउन २६ गते मंगलबार बिहान ११ बजे लक्ष्मीनाथ शर्मा निर्देशित ‘शान्तिदीप’ र दिउँसो २ बजे हिरासिंह खत्री निर्देशित ‘हिजो आज भोलि’ प्रदर्शन हुनेछन्।
अन्तिम दिन साउन २७ गते बुधबार बिहान ११ बजे लक्ष्मीनाथ शर्मा निर्देशित ‘बदलिँदो आकाश’ तथा दिउँसो २ बजे प्रकाश थापा निर्देशित ‘जीवनरेखा’ देखाइनेछ। एउटा मात्र चलचित्र प्रदर्शन हुने दिन शो दिउँसो १२ बजे सुरु हुनेछ भने दुई चलचित्र प्रदर्शन हुने दिन पहिलो शो बिहान ११ बजे र दोस्रो शो दिउँसो २ बजे सञ्चालन हुनेछ। सिट सीमित भएकाले इच्छुक दर्शकलाई अग्रिम रूपमा सिट सुरक्षित गर्न बोर्डले आग्रह गरेको छ।