सुचना, समाचार र मनोरन्जन

पोखरामा ‘राइट टु प्रोटिन रन–२०२६’ आयोजना हुँदै

पोखरा,

नेपाल दाना उद्योग संघको आयोजनामा देशकै ठूलो हाफ म्याराथन प्रतियोगिता ‘पाँचौं राइट टु प्रोटिन रन–२०२६’ आगामी असोज ३ गते (सेप्टेम्बर १९) पोखराको लेकसाइडस्थित बसुन्धरा पार्कबाट आयोजना हुने भएको छ।  5th “Right to Protein Run 2026” Power by USSEC and US SOY रहेका छन ।

प्रोटिनयुक्त आहारको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा ४ हजारभन्दा बढी धावक तथा धाविकाको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ। स्वस्थ, सक्षम र पोषणयुक्त नेपाल निर्माण गर्ने सन्देशसहित सञ्चालन हुने यस अभियानमा विभिन्न उमेर समूह तथा क्षमताका सहभागीलाई समेटिएको छ। म्यारथन बसुन्धरा पार्क बाट सुरु भएर ,हल्न चोक सेदि पामे हुँदै लौरुक सम्म जानेछ र फिनिसिङ स्पट बसुन्धरा पार्क नै हुनेछ ।

प्रतियोगितामा पुरुष र महिलातर्फ २१ किलोमिटर हाफ म्याराथन, पुरुषतर्फ १० किलोमिटर खुला दौड, महिलातर्फ ५ किलोमिटर खुला दौड, कक्षा १२ सम्मका विद्यार्थीका लागि पुरुषतर्फ ५ किलोमिटर र महिलातर्फ ३ किलोमिटर दौड, साथै ह्विलचेयरतर्फ पुरुष र महिलाका लागि ३–३ किलोमिटर दौड समावेश गरिएको छ।

हाफ म्याराथनतर्फ पुरुष र महिलाका प्रथम विजेताले जनही १ लाख ५० हजार रुपैयाँ, द्वितीयले १ लाख रुपैयाँ, तृतीयले ५० हजार रुपैयाँ, चतुर्थले ३० हजार रुपैयाँ र पञ्चमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

पुरुषतर्फ १० किलोमिटर खुला दौड र महिलातर्फ ५ किलोमिटर खुला दौडका प्रथम विजेताले ५० हजार रुपैयाँ, द्वितीयले ३० हजार रुपैयाँ, तृतीयले २० हजार रुपैयाँ, चतुर्थले १५ हजार रुपैयाँ तथा पञ्चमले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

त्यसैगरी विद्यालय तथा ह्विलचेयरतर्फका सबै विधामा प्रथम हुनेले ३० हजार रुपैयाँ, द्वितीयले २० हजार रुपैयाँ, तृतीयले १५ हजार रुपैयाँ, चतुर्थले १० हजार रुपैयाँ र पञ्चमले ५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

प्रतियोगिता बिहान ६ बजेदेखि सुरु हुनेछ। आयोजकले स्वास्थ्य, पोषण र सक्रिय जीवनशैली प्रवर्द्धन गर्ने यस अभियानमा धावक, परिवार, विभिन्न संघसंस्था तथा सर्वसाधारणलाई उत्साहपूर्वक सहभागी हुन आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.