काठमाडौं :
बैशाख महिनामा प्रदर्शन भएका चार फिल्मको बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ। गत वैशाख ११ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’देखि २५ गतेसम्म प्रदर्शनमा आएका ‘लालीबजार’, ‘मालती मंगले’ र ‘गुरु आमा’को बक्स अफिस तथ्यांक सार्वजनिक भएको हो।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक बक्स अफिस रिपोर्ट अनुसार ‘परालको आगो’को कमाई शीर्ष स्थानमा छ। साथै विवादमा रहेता पनि कमाईले हिसावले ‘लालीबजार’ दोस्रो स्थानमा आइपुगेको छ।
सुशील पोखरेलको निर्माणमा बनेको फिल्म ‘परालको आगो’ले जेठ २ गतेसम्म ४ करोड २२ लाख २३ हजार ४३५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यस फिल्मको १ लाख ५१ हजार ९२८ वटा टिकट बिक्रीबापत उक्त रकम कलेक्सन भएको हो। यस फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन भने फिल्ममा प्रकाश सपुत,सुहाना थापा,सौगात मल्ल,सिर्जना अधिकारी लगायतले अभिनय गरेका छन्। अर्को सातासम्म यो फिल्मले साँढे चार करोड कमाई गर्ने अनुमान गर्न सकिन्छ।
यता वैशाख २५ गते प्रदर्शन भएको ‘लालीबजार’को ग्रस कलेक्सन भने ३ करोड ४२ लाख ६१ हजार ७७९ रुपैयाँ छ। शनिबार राति ११ बजेर ५९ मिनेटसम्म १ लाख १४ हजार ५८६ वटा टिकट बिक्री गर्दै उक्त रकम कलेक्सन गरेको हो। यस फिल्मलाई यम थापाले निर्देशन गरेका हुन् भने कलाकारमा स्वस्तिमा खड्का,रबिन्द्र बनियाँ,मुकुन्द श्रेष्ठ लगायतले अभिनय गरेका छन्।
सोही दिन अर्थात ‘लालीबजार’सँगै प्रदर्शनमा आएका अन्य दुई फिल्म ‘मालती मंगले’ र ‘गुरु आमा’को ग्रस कलेक्सन निकै न्युन छ। फिल्म ‘मालती मंगले’को ९ दिनको कलेक्सन ४४ लाख ७८ हजार ६०८ रुपैयाँ पुगेको छ। १३ हजार ८९० वटा टिकट बिक्री हुँदा उक्त रकम कलेक्सन भएको हो। गायक रामकृष्ण ढकालले निर्माण गरेको यस फिल्ममा विजय बराल,वर्षा राउत,मेक्सम गौडेल लगायतले अभिनय गरेका छन्। साथै यस फिल्ममा प्रकु पाण्डेयले निर्देशन गरेका हुन्।
सोही दिनबाट प्रदर्शनमा अएको अर्को फिल्म ‘गुरु आमा’ कमाई २८ लाख ४४ हजार ४५१ रुपैयाँ ग्रस छ। ८ हजार ९७४ वटा टिकट बिक्री भएको यो फिल्मको ग्रस कलेक्सन निकै न्युन हो। फिल्ममा मिथिला शर्मा,बुद्धि तामाङ,पूजा शर्मा,प्रेम सोनी लगायतलाई फिल्ममा देख्न सकिन्छ। यस फिल्मको निर्माण तथा निर्देशक प्रेम सोनीले गरेका हुन्। साथै लगानी पनि उनकै हो।
बैशाख महिनामा प्रदर्शनमा आएका फिल्महरुको अवस्था सोचे अनुसारको हुन सकेन। अब जेठ महिनामा प्रदर्शन हुने फिल्मको कस्तो हुने हुन्। त्यो भने यस महिनाको अन्तिममा थाहा हुन्छ। तर नेपाली फिल्मको बजार भने लालीबजारपछि केहि चहलपहल भएको हो नी भन्ने अनुमान गर्न सकिन्छ। किनकी विवादमा आएको यो फिल्मको कमाई चार करोड नजिक छोटो समयमा पुग्नु चानचुने कुरा भने होइन।