पोखरा,
पोखरा उद्योग बाणिज्य संघद्वारा आयोजित नेपाल मणिपाल अस्पताल ३४औ राष्ट्रीय औद्योगिक ब्यापार मेला एवं १३औं क्यान ईन्फोटेक २०८२ अन्तरगत आइतबार अर्थात आज अन्तिम दिनका कार्यक्रम संचालन हुदैँछन । मंसिर १७ गतेबाट पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा संचालित मेलाको दिउँसो ३ बजे औपचारिक समापन कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
२०४२ सालदेखि विभिन्न विद्याबाट मेला आयोजना गर्दै आएको परम्परालाई निरन्तरता दिने क्रममा यसपटक पोखरामै रहेको नेपाल मणिपाल अस्पताल सहयोगीको रुपमा जोडिएको थियो भने कम्प्यूटर एसोसियसन नेपाल महासंघ (क्यान) कास्की मेलाको सह–आयोजकको रुपमा भूमिका निर्वाह गर्यो ।
‘लगानीको सम्वद्र्धन, उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ आयोजित मेलाले पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक,कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउनेमा आयोजक विश्वस्त छ ।
क्यान इन्फोटेक अन्तर्गत सूचना–प्रविधिको क्षेत्रसँग सम्बन्धित विभिन्न प्रतिष्ठानहरुले पछिल्लो समयका प्रविधि,दैनिक जीवनलाई अझ सरल बनाउने उपकरणहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिएको बताउँदै क्यान महासंघ गण्डकीका अध्यक्ष पुरुषोत्तम कुँवरले मेलाले आम नागरिकलाई विज्ञान प्रविधिसंग थप करिव ल्याउन सहयोग पुर्याएको जिकिर गरे ।