काठमाडौं :
पूर्वघोषित मितिमा फिल्म ‘चमेलीको पोइ’ प्रदर्शन नहुने भएको छ । निर्देशक एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको उक्त फिल्म रामनवमी अर्थात् १३ चैतमा प्रदर्शन गर्ने तयारी गरिएको भए पनि देशको वर्तमान राजनीतिक स्थिति तथा निर्वाचन परिवेशलाई मध्यनजर गर्दै प्रदर्शन स्थगित गरिएको बिहीबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको ‘चमेलीको पोइ’को नयाँ प्रदर्शन मिति छिट्टै तय गरिने निर्माण पक्षले जनाएको छ । प्रेस विज्ञप्तिसँगै सार्वजनिक गरिएको निर्माता रामनारायण उपाध्यायको भिडियो सन्देशमा निर्देशक बोहराको टिमले अत्यन्त मिहिनेतका साथ समयमै फिल्म निर्माण सम्पन्न गरेकोमा आभार व्यक्त गरिएको छ । केही समयअघि सार्वजनिक गरिएको फर्स्टलुक पोस्टरबाट चर्चा बटुलेको फिल्मलाई शान्तिपूर्ण र अनुकूल वातावरणको पर्खाइपछि मात्र प्रदर्शन गरिने पनि उल्लेख गरिएको छ ।
निर्देशक बोहराकै कथा रहेको फिल्ममा शिवम अधिकारीको पटकथा तथा शेरबहादुर तामाङको छायांकन रहेको छ । सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेको फिल्ममा उदयविक्रम राणा, रितु मल्ल ठकुरी र कपिल आचार्य कार्यकारी निर्माता छन् । प्रदीपकुमार सापकोटा, यमप्रसाद ओली र सुदीप कुँवर सह–निर्माताका रूपमा रहेका छन् ।
फिल्ममा नारायण त्रिपाठी, सुरक्षा पन्त, मुकुन भुसाल, विल्सन विक्रम राई, रविन्द्र झा, प्रेमदेव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, अंशु महर्जन, बबिन राई, खड्गबहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनीता सापकोटा, मिना आरएल शाही, रितु मल्ल ठकुरीलगायत कलाकारहरूको अभिनय रहेको छ । फिल्मको वितरण आरआर फिल्म्सले गर्ने जनाइएको छ ।