सुचना, समाचार र मनोरन्जन
jaar

चन्द्रवीरले खनेको त्यो बाटो…

 

दाङ : श्रीमतीसँगै छोराहरू पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो । राप्ती लोकमार्ग नजिकै भए पनि त्यही लोकमार्गसम्म पुग्ने बाटो नभएपछि तुलसीपुर उपमहानगरपालिका–३ साततलेका चन्द्रवीर वलीले बूढेसकालमा दुई वर्ष लगाएर बाटो खने ।

 

न त कसैले बाटो खन्न सहयोग गरे, न त कसैले चासो दियो । एक्लै दुई वर्ष लगाएर दुई किलोमिटर बाटो खनेका चन्द्रवीरलाई अहिले भने निकै सहज भएको छ । चन्द्रवीरले खनेको गोरेटो बाटोमा तुलसीपुर उपमहानगरपालिकाले सडक नै निर्माण गरिदिएको छ ।

 

विसं २०७३ मा वलीले दुई वर्ष लगाएर खनेको गोरेटोबाटो सडकमा परिणत भएको हो । अहिले गाडी, अटो, मोटरसाइकल त्यही बाटोमा गुड्छन् । त्यहाँबाट खमारी जान त्यही छोटो बाटो प्रयोग हुने गरेको छ ।

 

चन्द्रवीरले दृष्टिविहीन श्रीमती र चार छोराका लागि बाटो खनेका हुन् । ‘श्रीमती पनि आँखा नदेख्ने, छोराहरूपनि आँखा नदेख्ने थिए, बजार जानलाई बाटो थिएन’, उनले भने, ‘श्रीमती र छोरा लड्लान भनेर त्यो बाटो खनेको थिएँ, अहिले यही बाटोमा गाडी चल्ने भए ।’

 

उनका पाँच छोरा र एक छोरी थिए । एउटा छोरा र छोरीको सानैमा मृत्यु भयो । अहिले भएका चार छोरामध्ये कान्छो छोराले मात्रै आँखा देख्छन्, अन्य तीन छोराले आँखा देख्दैनन् ।

 

अहिले उनका जेठो छोरा काठमाडौंमा दोहोरी साँझमा काम गर्छन् भने माइलाले तुलसीपुर बजारमा गीत गाएर आम्दानी गर्छन्  । कान्छो छोरा काठमाडौंमै छन् । उनले पनि दृष्टिविहीनलाई बाटो देखाउने काम गर्छन् ।

 

चन्द्रवीरका लागि अहिले घरैमा कसैकसैले सहयोग दिन्छन्  । त्यही सहयोगबाट उनको दैनिकी चलेको छ । ‘कहिले मास्टर आउनुहुन्छ, कहिले इञ्जिनियर आउनुहुन्छ’, उनले भने, ‘यसरी नै आउने सबैले चामल, दाल ल्याइदिनुहुन्छ, हाम्रो जीवन यसरी चलेको छ ।’

Leave A Reply

Your email address will not be published.