सुचना, समाचार र मनोरन्जन

फिल्म ‘चंगुल’ भदौ १९ गते प्रदर्शन हुने, ‘जेन–जी’ आन्दोलन र युवा जागरणको कथा

काठमाडौं :

 जेन–जी (नयाँ पुस्ता) को आन्दोलन तथा त्यस अघि र पछिको राजनीतिक-सामाजिक अवस्थालाई चित्रण गरेर निर्माण गरिएको नेपाली फिल्म ‘चंगुल’ आगामी भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ ।

मालती कार्कीद्वारा निर्मित तथा राम गौतमद्वारा निर्देशित यस फिल्मले देशमा व्याप्त भ्रष्टाचार, त्यसले जनतामा पारेको असर र भ्रष्टाचारका विरुद्ध ब्युँतिएको युवा जागरणको कथालाई पर्दामा उतारेको छ। गत वर्ष भदौ २३ र २४ गते भएको आन्दोलन र उक्त आन्दोलनमा ज्यान गुमाउने ‘जेन–जी’ पुस्ताका सहिदहरूको सम्झना तथा सम्मानस्वरूप फिल्मलाई भदौ १९ गते प्रदर्शन गर्न लागिएको निर्माता मालती कार्कीले जानकारी दिएकी छिन्।

फिल्ममा रवि कार्की, लय संग्रौला, लक्ष्मीनाथ तिमल्सिना, राकेश कुमार राई, आशा बिसी र स्वस्तिका लामिछाने लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ भने बाल कलाकारको रूपमा रिम्शा कार्कीले अभिनय गरेकी छिन्। फिल्मका गीतहरूमा विपिन आचार्य र नन्दनी अधिकारीको संगीत रहेको छ । देव महर्जनको द्वन्द्व निर्देशन रहेको यस फिल्मलाई दीपेन्द्र बस्न्यातले छायाङ्कन तथा सम्पादन गरेका हुन्।

Leave A Reply

Your email address will not be published.