सुचना, समाचार र मनोरन्जन

चौधरी ग्रुपले जेनजी आन्दोलनका शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने

काठमाडौँ,

चौधरी ग्रुप (सीजीले जेनजी आन्दोलनका क्रममा शहीद भएका प्रत्येक परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ । ग्रुपका तर्फबाट प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो घोषणा गरेका हुन् ।

उनले शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । उनले भनेका छन्, जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ। यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो।

चौधरीले आन्दोलनका क्रममा आफ्नो निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा भएको ठुलो क्षतिप्रति पनि दुःख व्यक्त गरेका छन् । उक्त आन्दोलनका क्रममा हाम्रो निजी सम्पत्ति र उद्योगमा ठुलो क्षति र विध्वंसले हामीलाई गहिरो पीडा दिएको छ। यद्यपि, यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनः निर्माणको यात्रामा अघि बढेका छौँ, उनले लेखेका छन् ।

सीजीले शहीद परिवारहरूसँग प्रत्यक्ष सम्पर्क सुरु गरिसकेको बताउँदै चौधरीले आवश्यक विवरणका लागि कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख मधुसूदन पौड्याललाई सम्पर्क गर्न अनुरोध गरेका छन् ।

Leave A Reply

Your email address will not be published.