सुचना, समाचार र मनोरन्जन

‘सिटामोल’ सिनेमाबाट ‘रातो पछ्यौरी’ गीत सार्वजनिक, मौलिकताको झल्को

काठमाडौं :

आगामी शुक्रबार, साउन २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘सिटामोल’को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक गरिएको छ। प्रचारप्रसारलाई तीव्र बनाउँदै आएको निर्माण पक्षले सोमबार गीत सार्वजनिक गरेको हो।

गीतमा गायक रवि ओड र गायिका अञ्जना खतिवडाको स्वर रहेको छ भने शब्द, संगीत र एरेञ्ज बाबुल गिरीले गरेका छन्। मौलिक नेपाली भाव र संगीतको स्वाद दिन खोजिएको यस गीतले सिनेमाको कथालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

यसअघि सार्वजनिक गरिएको ट्रेलरले दर्शकमाझ उत्साहजनक प्रतिक्रिया पाएको थियो। ट्रेलरमार्फत सिनेमाले नेपाली समाजमा विद्यमान गरिबी, बेरोजगारी, पारिवारिक समस्याहरू र सरकारी उदासिनतालाई व्यङ्ग्यात्मक ढंगले प्रस्तुत गरेको छ।

राज बहादुर साने निर्देशित सिनेमामा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेललगायत कलाकारको अभिनय रहेको छ। श्रीकृष्ण र जानुका यही सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गर्दैछन्।

तुल्सी देवी फिल्म प्राली र जुनतारा फिल्म्सको सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले संयुक्त रूपमा लेखेका हुन्। सिनेमाका निर्माता भुगोल कुमार कार्की र विकास राज जोशी हुन् भने कार्यकारी निर्मातामा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी छन्। सिनेमाको प्रस्तुती सिमोस सुनुवारको रहेको छ।

सिनेमामा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, देव र शंकर महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको डिआई कलर, र मुकेश शाहको साउण्ड डिजाइन रहेको छ। सिनेमाका दृश्यहरू दिव्य सुवेदीले खिचेका हुन्।

‘सिटामोल’ले सामाजिक यथार्थतालाई हाँस्य र व्यङ्ग्यको पाटोबाट उठान गर्ने प्रयास गरेको निर्माण पक्षको दाबी छ। सार्वजनिक प्रचार सामग्रीले दर्शकमाझ अपेक्षाकृत चासो जगाएको सिनेमा प्रदर्शनपछि कस्तो प्रतिक्रिया पाउनेछ भन्ने प्रतिक्षाको विषय बनेको छ।

Leave A Reply

Your email address will not be published.