काठमाडौं :
आउँदो तीज पर्वलाई लक्षित गर्दै वसन्ती लामा र राज टाइगरको स्वरमा रहेको नयाँ तीज गीत ‘सुनको चुराले’ सार्वजनिक गरिएको छ। तीजको मौसमी रौनक बढ्दै गइरहेका बेला सार्वजनिक गरिएको उक्त गीतले परम्परागत लोकधुन र आधुनिक भावनाको संयोजनमार्फत दर्शकको ध्यान खिच्न सफल भएको छ।
गीतमा सपना बानियाँको शब्द रचना, वसन्ती लामाको संगीत तथा सुन्दर लामाको संगीत संयोजन रहेको छ। “माइत जाने कुरा थियो यसपालिको तीजमा, कहाँबाट छिरेउ बुढा तिमी बीचमा” जस्ता व्यङ्ग्यात्मक र रमाइला बोलहरूले गीतलाई अझै रोचक बनाएका छन्।
आदित्य बुढाथोकीद्वारा निर्देशित गीतको भिडियोमा दिक्पाल कार्की, राज टाइगर, सुषमा मगर, पुष्पा बिसुङ्खे लगायतका कलाकारहरूको अभिनय तथा नृत्य रहेको छ। भिडियोको कोरियोग्राफी राहुल बराइलीले गरेका हुन् भने छायाङ्कन मुकेश हुमागाईंको रहेको छ।
गीतको भिडियो सदिक्षा फिल्म्स युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएको छोटो समयमै गीतले सामाजिक सञ्जालमा राम्रो चर्चा बटुलिरहेको छ।
सर्जकहरूका अनुसार ‘सुनको चुराले’ गीतले महिलाहरूको भावनात्मक अवस्थालाई हास्यरसको शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको छ। तीजको सांस्कृतिक महत्वलाई गीतमार्फत उजागर गर्न खोजिएको उनीहरूको भनाइ छ।