काठमाडौं :
भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘कोशोढुङ्गा’ को नयाँ गीत ‘भंगेरा भँगेरी’ सार्वजनिक गरिएको छ। प्रेमभावनाले भरिएको उक्त गीत मंगलबार निर्माता पक्षले सार्वजनिक गरेको हो।
गीतमा प्रेमजोडीको गहिरो सम्बन्ध र जीवनयापनमा आर्थिक पक्षको महत्वलाई विम्वात्मक शैलीमा प्रस्तुत गरिएको छ। भँगेरा र भँगेरीको मायालाई विम्व बनाइएको गीतमा पात्रहरूको भावना र कथाको झल्को समेत देख्न सकिन्छ।
गीतमा रिदम कँडेल र बेनिशा पौडेलको स्वर रहेको छ भने संगीत पनि कँडेलकै रहेको छ। विदुर तिमल्सिना ९देवदूत० को शब्द रचनामा तयार गरिएको गीतले दर्शकमाझ भावनात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
भिडियोमा कलाकार सुरक्षा पन्त र मञ्जिलकुमारको अभिनय देख्न सकिन्छ। गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा दर्शकको रुचि बढिरहेको निर्माण पक्षको दाबी छ। यसअघि सार्वजनिक गरिएको गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ टिकटकमा लोकप्रिय बनेको थियो।
सरोज पौडेल निर्देशित यो फिल्म नरदेवी फिल्म्सको प्रस्तुति र सारंगी फिल्म्सको सहकार्यमा निर्माण गरिएको हो। निर्माता प्रेविल कँडेल र किशोर अनुराग, कार्यकारी निर्माता दिनेश खड्का रहेका छन्। ‘कोशोढुङ्गा’ नेपालसहित ४२ भन्दा बढी देशमा एकसाथ प्रदर्शनमा ल्याइने तयारी गरिएको निर्माण पक्षले जनाएको छ।