काठमाडौं :
निर्देशक आशान्त शर्माले निर्देशन गरेको नेपाली फिल्म ‘ताराहरू’ आगामी भदौ ६ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ। फिल्मको पोस्टर निर्माण पक्षले मंगलबार सार्वजनिक गरेको हो।
पोस्टरमा देखिएका दृश्यहरूले फिल्मको कथा गहिरो मनोवैज्ञानिक पाटोसँग जोडिएको संकेत गर्छ। प्रमुख कलाकार आशान्त शर्मा अशान्त, छटपटिएको मानसिक अवस्थाको भूमिकामा देखिन्छन् भने मेनुका प्रधानको लुक्समा आत्मविश्वास र स्थायीताको झल्को देखिन्छ। दृश्यात्मक रूपमा पोस्टरले आन्तरिक द्वन्द्व र भावनात्मक टकरावको संकेत गरेको छ।
निर्देशक शर्माका अनुसार ‘ताराहरू’ सहरको निम्न मध्यमवर्गीय परिवारको जीवनसंघर्ष र सामाजिक यथार्थमाथि आधारित छ। उनले भने, “सामान्य मानिसका असामान्य संघर्षहरू फिल्मको मूल कथा हुन्।”
फिल्ममा शर्मा र प्रधानसँगै कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्मको निर्माण वेज प्रालिले गरेको हो। गोपिनी सेढाइँ र कृष्णप्रसाद पंगेनी निर्माता रहेको यो फिल्मलाई देशभर प्रदर्शनसँगै अन्तर्राष्ट्रिय बजारमा पनि लैजाने तयारी गरिएको बताइएको छ।