पोखरा :
पोखरा महानगरपालिका वडा नम्बर १३ ले सामाजिक सुरक्षा भत्ता नविकरण गर्न आउने लाभग्राहीलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्दै औषधि वितरण कार्यक्रम थालेको छ। वडाले यो साउन महिनाभर यस्तो कार्यक्रमको आयोजना अगाडि सारेको हो।
वडाध्यक्ष किरण बरालका अनुसार कार्यक्रम आगामी साउन महिनाभर वडा कार्यालय परिसरमै सञ्चालन हुनेछ। एक जना फिजिसियनको उपस्थितिमा नियमित स्वास्थ्य परीक्षण गरिनुका साथै डेंगुको जोखिम बढिरहेकाले विशेष परीक्षणका लागि छुट्टै प्राविधिकसमेत खटाइनेछ। सोही कार्यक्रममा रगतसम्बन्धी अन्य परीक्षणका लागि पनि अर्का एक जना स्वास्थ्यकर्मी नियुक्त गरिएको छ।
परीक्षणपछि आवश्यक औषधिहरु पनि निःशुल्क वितरण गर्नुका साथै सामाजिक सुरक्षा भत्ता नविकरण र स्वास्थ्य सेवा एकै स्थानबाट सहज रूपमा उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम थालेको वडाध्यक्षको भनाई छ।
उनले उने,‘डेंगुको सन्त्रास बढिरहेको अवस्थामा हामीले जनस्वास्थ्यलाई प्राथमिकतामा राख्दै परीक्षणको व्यवस्था गरेका हौं।’
यो कार्यक्रम कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र कमलपोखरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा सञ्चालन गरिएको हो।