सुचना, समाचार र मनोरन्जन

बाढी पीडितको राहतमा जोडिए इन्फोम्याक्स कलेज अफ आइटी एन्ड म्यानेजमेन्ट र सोच कलेज

पोखरा,

रसुवामा आएको बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि पोखराका दुई कलेजका शिक्षक, कर्मचारी र कलेज प्रशासन एकसाथ जुटेका छन्। इन्फोम्याक्स कलेज अफ आइटी एन्ड म्यानेजमेन्ट र सोच कलेज अफ आइटीले संयुक्त रूपमा ५ लाख २९ हजार १ सय रुपैयाँ सहयोग गरेका छन्।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) कास्कीमार्फत् राहत रकम हस्तान्तरण गरिएको हो। सहयोगमा कलेज प्रशासनसँगै शिक्षक तथा कर्मचारीको समेत योगदान रहेको छ।

रानीपौवास्थित इन्फोम्याक्स कलेजले ३ लाख ७ हजार १ सय रुपैयाँ सहयोग गरेको छ। कलेजका अध्यक्ष विकास पहारीले हिसान कास्कीका अध्यक्ष दिवाकर जैसीलाई चेक हस्तान्तरण गरेका हुन्। उक्त रकममध्ये कलेजको तर्फबाट १ लाख २५ हजार तथा शिक्षक र कर्मचारीबाट १ लाख ८२ हजार १ सय रुपैयाँ संकलन गरिएको हो।

त्यस्तै, सोच कलेज अफ आइटीले २ लाख २२ हजार रुपैयाँ सहयोग गरेको छ। कलेजका प्रिन्सिपल सुशील अधिकारीले हिसान कास्कीका अध्यक्ष जैसीलाई रकम हस्तान्तरण गरेका हुन्। सो रकममा कलेजको तर्फबाट १ लाख २५ हजार तथा शिक्षक–कर्मचारीबाट ९७ हजार रुपैयाँ संकलन गरिएको कलेजले जनाएको छ।

बाढीपहिरोका कारण ज्यान गुमाएका तथा विस्थापित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग रकम संकलन गरिएको दुवै कलेज प्रशासनले जनाएको छ। विपद्को समयमा संस्थागत सहयोगसँगै शिक्षक तथा कर्मचारीको व्यक्तिगत सहभागितालाई पनि महत्त्व दिँदै राहत अभियानमा जोडिएको उनीहरूको भनाइ छ।

दुई दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहेको इन्फोम्याक्सले स्नातक तहमा बीएससी आईटी तथा स्नातकोत्तर तहमा एमबीए कार्यक्रम सञ्चालन गर्दै आएको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सोच कलेजले भने विगत १३ वर्षदेखि बीएससी सीएसआईटीलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

Leave A Reply

Your email address will not be published.