काठमाडौँ :
टेलिभिजन रियालिटी शोको बाढी आइरहेको बेलामा अर्को हाँस्य व्यंगमा आधारित टेलिभिजन कार्यक्रम ‘कमेडी किरो राष्ट्रको हिरो’थपिएको छ। बिहिबार यसको जनता टेलिभिजनको हलमा अफिसियल घोषणा गरिएको हो। रेस्क्यु क्रियसनले निर्माण गर्ने यो कार्यक्रम कम्पिटिसन होइन। कमेडी फर करियर भन्ने नारा सहित ‘कमेडी किरो राष्ट्रको हिरो’ जनता टेलिभिजन,म्युजिक नेपालको युट्युब च्यानल र रेडियो जनता ८९.१ मेगाहर्जबाट प्रशारणमा आउने निर्माण पक्षले जानकारी दियो।
उनीहरुका अनुसार देशभरबाट डिजिटल अडिसन मार्फत आएका प्रतियोगी बाट टप २० छान्ने र उनीहरुलाइ १ वर्षको लागि रोजगार दिने योजना रहेको छ। प्रोजेक्ट हेड समन अधिकारीले मासिक तलवमा काम गर्ने रोजगारी सृजना गर्ने उदेश्यले यो शो निर्माण गर्न लागिएको बताए।
चार किसिमको वर्गीकरण गरेर कार्यक्रमको फर्म्याट बनाइएको र यसबाट प्रखर कमेडियन उत्पादन हुने उनको दाबी छ।
आजैबाट डिजिटल अडिसन सुरु भएको छ। डिजिटल अडिसनको लागि ढठटघद्दघघटडछ नम्बरमा २ मिनेट सम्मको भिडियो बनाएर व्हाट्स एप मार्फत पठाउन सक्नेछन्। लोगो तथा प्रोमो सार्वजनिक कार्यक्रममा ‘कमेडी किरो राष्ट्रको हिरो’ निर्माण गर्न सहयोग गर्ने संस्थाहरुलाई प्रमाणपत्र समेत प्रदान गरियो।
कार्यक्रममा बोल्दै टेलिभिजनका अध्यक्ष डा.विजय पौडेलले यस कार्यक्रमले आर्थिक आर्जनमा समेत मद्दत पुग्ने र धेरै जनाले रोजगारी पाउने बताए। कार्यक्रमको संचालन कमेडियन दिनेश काफ्लेले गर्नेछन्। कार्यक्रममा सहभागीहरुलाई सन्तोश खनाल, सुदिप खतिवडा,सरोज भण्डारीले प्रशिक्षण दिनेछन्। कार्यक्रमको निर्देशन मोहन अधिकारीले गर्नेछन्। लोगो र प्रोमो सार्वजनिक कार्यक्रममा जनता टेलिभिजनका कार्यकारी अधिकृत रमेश आचार्य,म्युजिक नेपालको प्रतिनिधि मन्दिरा ढुंगेल लगाएतको उपस्थिति रहेको थियो।