काठमाडौँ :
ग्राण्ड प्रिमियर गर्दै हास्य विधामा आधारित रियालिटी शो ‘कमेडी च्याम्पियन’को चौथो सिजन प्रसारण सुरु भएको छ। शो शनिबार अर्थात् असोज ३ गतेदेखि संविधान दिवसको अवसर पारेर प्रसारणमा आएको हो।
शोको ग्रान्ड प्रिमियर स्वरुप पहिलो एपिसोड सार्वजनिक भइसकेको छ। शोको पहिलो एपिसोड हिमालय टेलिभिजनबाट राति ९ बजे तथा ओएसआर रियालिटीको युट्युब च्यानलबाट प्रसारण भएको थियो। पहिलो एपिसोडमा अभिनेता दीपकराज गिरी र अभिनेत्री केकी अधिकारी पाहुनाका रूपमा सहभागी भएका थिए । विगतका सिजनको तुलनामा चौथो सिजनमा जज प्यानलमा केही परिवर्तन गरिएको छ । सिजन १, २ र ३ मा जज रहेकी ऋचा शर्मा भने निरन्तर छिन्। अन्य तीन जज मनोज गजुरेल, सन्तोष पन्त र प्रदीप भट्टराईको स्थानमा जितु नेपाल, बुद्धि तामाङ र शोका निर्देशक विशाल भण्डारी जोडिएका छन्।
तीनवटै सिजनमा एउटै जज प्यानल रहँदा जोकको प्याटर्न र इनसाइड जोकहरू पनि उस्तै हुँदै गएकाले यसपटक केही भेरिएसन ल्याउन जज प्यानल परिवर्तन गरिएको निर्देशक भण्डारीले बताएका छन्। फरक जोक, नयाँ शैली र अझै फ्रेस रोस्ट प्रस्तुत गर्ने उद्देश्यले जज प्यानलमा परिवर्तन गरिएको उनको भनाइ छ। शोको सञ्चालनतर्फ पनि परिवर्तन गरिएको छ। कार्यक्रम सञ्चालकमा मेक्सम गौडेल निरन्तर छन् भने रीमा विश्वकर्मा सांसद बनेपछि उनको स्थानमा नम्रता श्रेष्ठलाई ल्याइएको छ।
निर्देशक भण्डारीका अनुसार चौथो सिजन करिब ३० एपिसोडसम्म सञ्चालन हुनेछ। थ्री प्रोडक्सन टिमको प्रस्तुति रहेको शोका प्रमुख कार्यकारी निर्माता सगुन पाण्डे हुन्। यसैबीच, निर्देशक विशाल भण्डारीले ‘कमेडी च्याम्पियन’सँग आफ्नो छुट्टै भावनात्मक सम्बन्ध रहेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत हरेक सिजन नयाँ-नयाँ प्रतिभाहरू कार्यक्रममा आउने र कमेडीको क्षेत्रमा आफ्नो करियर बनाउँदै जाने गरेको बताएका हुन्।
नयाँ कलाकारको यात्राको साक्षी बन्न दर्शकलाई आग्रह गर्दै भण्डारीले ‘एउटा कमेडियनको हिरो फ्रम जिरो’ यात्राको साक्षी बन्नसमेत आह्वान गरेका छन्। ‘केही महिनापछि तपाईंको मञ्च, मेला र कार्यक्रममा प्रस्तुति दिएर लोटपोट हँसाउने कलाकार तयार हुँदैछन्,’ उनले लेखेका छन्।
साथै उनले लुकेका कलाकार र उनीहरूको कलाकारिता यात्राको साक्षी बन्न पाउनु तथा उनीहरूको सफलताको कथा बुन्न पाउनु आफ्नो टिमका लागि गर्वको विषय रहेको उनले बताएका छन्। उनका अनुसार कोही कमेडीप्रतिको अनुभव र तयारीसहित कार्यक्रममा आउँछन् भने कोही केही जोक चलेपछि छनोट हुँदै प्रतियोगिताको यात्रामा प्रवेश गर्छन् ।
‘तर जसरी आए पनि सिजन सकिँदासम्म २/३ महिना दिनरात मेहनत गरेर अब्बल कलाकार भएर निस्कन्छन् र आफ्नो नाम बनाउँछन्’, भण्डारीले लेखेका छन् ।
