सुचना, समाचार र मनोरन्जन

पुस ३ र ४ गते पोखरामा काँग्रेसको प्रदेश सम्मेलन

विधान अनुसार पार्टी नचलेका कारण घच्घच्याउनुपर्ने अवस्था सिर्जना भएको काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बताए । ‘विधानमा भएको व्यवस्थालाई बेवास्ता गरेर पार्टी चलेको छ । यसकै कारण गुटहरु मौलाएका हुन् ।’, उनले भने, ‘यो सम्मेलनबाट केन्द्रलाई धक्का दिने खालका बहस र निर्णय हुनेछन् ।’

पोखरा ।

पुस ३ र ४ गते पोखरामा काँग्रेसको प्रदेश सम्मेलन हुने भएको छ । सम्मेलनको सम्पूर्ण तयारी लगभग पूरा भएको महामन्त्री विष्णुप्रसाद लामिछानेले जानकारी गराए । उनका अनुसार सम्मेलनमा पार्टीको राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन पास हुनेछ । पदाधिकारी बैठकबाट पास भइसकेको सबै प्रतिवेदन बन्द सत्रमा प्रस्तुत हुने उनले बताए । काँग्रेस केन्द्रलाई घच्घच्याउने गरी सम्मेलनको तयारी गरेको भनाई उनको छ । मंगलबार र बुधबार हुने सम्मेलनको पहिलो दिन उद्घाटन समारोह र दोस्रो दिन मात्रै बन्द सत्रको कार्यक्रम हुने तालिका छ ।

सम्मेलनको उदघाटन पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् । पार्टीका केन्द्रीय पदाधिकारीदेखि प्रभावशाली नेताहरुको उपस्थिति रहनेछ । विधान अनुसार पार्टी नचलेका कारण घच्घच्याउनुपर्ने अवस्था सिर्जना भएको काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बताए । ‘विधानमा भएको व्यवस्थालाई बेवास्ता गरेर पार्टी चलेको छ । यसकै कारण गुटहरु मौलाएका हुन् ।’, उनले भने, ‘यो सम्मेलनबाट केन्द्रलाई धक्का दिने खालका बहस र निर्णय हुनेछन् ।’

केन्द्रले पार्टी रुपान्तरण नस्वीकारे गण्डकी प्रदेशले नै देशव्यापी अभियान चलाउने शर्माले उल्लेख गरे । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तलाई नेताहरुले छाडेर हिडेका कारण आज काँग्रेसले बाटो बिराएको भन्दै पार्टी सभापति नै गुटमा रमाएका कारण विधान कार्यान्वयन हुन नसकेको आरोप लगाए । उनले नैतिकवान मान्छे भए संख्याले कुनै असर नपर्ने बताए ।

काँग्रेसको प्रचार विभागको आयोजनामा आइतबार भएको पत्रकार सम्मेलनमा ५ सय भन्दा बढी सहभागी हुने जनाइएको छ । उनीहरुलाई पोखराका विभिन्न होटलहरुमा बासको व्यवस्था समेत गरिएको छ ।

Leave A Reply

Your email address will not be published.