काठमाडौं :
चलचित्र ‘क्याप्टेन साब’ को छायांकन सुरु भएको छ। शनिबार काभ्रेपलाञ्चोकको ढुंखर्क, बेथानचोकबाट यसको छायांकन सुरु गरिएको हो।
यसअघि असार २६ गते काठमाडौंको गौरीघाटमा चलचित्रको शुभमुहूर्त गरिएको थियो। कृष्णबहादुर थापा छायाकार रहेको यस चलचित्रको छायांकन काठमाडौंसँगै चितवन, काभ्रे र वीरगञ्जमा हुने बताइएको छ।
दीपेन्द्र के. खनालद्वारा निर्देशित यो चलचित्र पाइलट तथा व्यवसायी, सञ्चार उद्यमी रामेश्वर थापाको जीवनमा आधारित बायोपिक हो।
‘क्याप्टेन साब’ पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति हो। चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र अभिनेता सञ्जोग रसाइली प्रमुख भूमिकामा छन्।
यसअघि चलचित्र ‘धनपति’ मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा ल्याएका निर्देशक खनालले तीनै कलाकारलाई एउटै फ्रेममा पुनः ल्याउन लागेका छन्। निर्देशक खनाल र अभिनेता लामिछानेचाहिँ लगातार सहकार्य गर्दै आइरहेका छन्।
निर्मातामा निर्देशक खनालसँगै करण श्रेष्ठ र सृष्टिमा खनाल छन्। कार्यकारी निर्मातामा सिर्जना नापित छिन्। चलचित्रमा सौगात बस्नेत मुख्य सहायक निर्देशक छन् भने रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) ले पोस्टर र पब्लिसिटी डिजाइन गरेका छन्। प्रोडक्सन डिजायनमा एकी थेक्पा, प्रोडक्सन म्यानेजरमा रोहित राज गौतम र विष्णु बुढाथोकी छन्।
छायांकन सुरु भएसँगै निर्देशक खनालले ‘क्याप्टेन साब’ एक फरक शैलीको सिनेमा हुने बताए। क्याप्टेन थापाको संस्मरणात्मक कृति ‘इन्टु द फायर’ (बारुदमाथि उड्दा) मा आधारित यो चलचित्रमा सिनेम्याटिक लिबर्टीसहित मनोरञ्जनात्मक प्रस्तुति दिने योजना रहेको उनले बताए।