सुचना, समाचार र मनोरन्जन

हिरोइनले पनि एक्सन सिक्वेन्स गर्न सक्छन् भन्ने दान्भीमा देखाएको छु : पुजा शर्मा

काठमाडौं :

आगामी असार ७ गतेबाट रिलिज हुने फिल्म ‘दान्भी’को ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा बिहीबार एक कार्यक्रमबीच २ मिनेट ४० सेकेण्डको ट्रेलर सार्वजनिक गरिएको छ।

ट्रेलरमा फिल्मकी प्रमुख नायिका पूजा शर्माको दमदार एक्सनलाई स्थान दिइएको छ। फिल्मका नवनायक कुन्साङ बोमजोमसँग पुजाको प्रेमलाई पनि ट्रेलरमा देख्न सकिन्छ । ट्रेलर हेर्दा कुन्साङको हत्या पछि उनको हत्याको बदला लिन पुजालाई एक्सन रुपमा प्रस्तुत गरिएको बुझ्न सकिन्छ । ट्रेलरमा पुजालाई ‘लेडी टाइगर’का रुपमा चित्रण गरिएको छ।

कार्यक्रममा नायिका पुजाले फिल्मको टिजर र एक्सन सिक्वेन्सको तस्वीर सार्वजनिक भएपछि सञ्चारमाध्यममा आफूलाई ट्रोल बनाइएकोमा गुनासो गरिन् । ‘मेरो एक्सनलाई देखावटी भनेर समाचार पनि आयो। तर मैले फिल्मका लागि कतिसम्म एक्सन दृश्य दिएको छु भन्ने कुरा दर्शकले फिल्म हेरेपछि थाहा पाउनुहुनेछ’, उनले भनिन्।

पुजाले आफूले ट्रेलर हेरिरहँदा ती दृश्य कसरी गरें भन्ने आफूलाई लागेको बताइन् । ‘अब म अरुको आलोचना सुन्नु भन्दा कामले नै जितेर देखाउँछु भन्ने अठोटमा छु । हिरोइनले पनि एक्सन सिक्वेन्स गर्न सक्छन् भन्ने दान्भीमा देखाएको छु’, उनले भनिन्।

नवनायक कुन्साङले दर्शकले ‘दान्भी’मा नयाँ एक्सन जनरा पाउने बताए। अर्का नायक किरण श्रेष्ठले एक्सन जनरा मनपर्ने दर्शकका लागि ‘दान्भी’ उपर्युक्त फिल्म भएको दाबी गरे।

फिल्मका द्वन्द्व निर्देशक श्री श्रेष्ठले पुजाको टाइमिङ र उनको मेहनतले ‘दान्भी’मा एक्सन गर्न सजिलो भएको बताए। निर्देशक रुपेश तामाङले फिल्म राम्रो बनेकोमा आफू ढुक्क रहेको बताए ।

नेपाल र भारतका विभिन्न स्थानमा खिचिएको फिल्ममा विशाल पहाडी, राजाराम पौडेललगायतका कलाकारको अभिनय छ। फिल्ममा पवन राना मगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता छन् । फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह–निर्माता छन्।

फिल्ममा सन्जोग कुँवर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ।

Leave A Reply

Your email address will not be published.