बिचुटेन डेटा भोल्टले नेपालमा टियर–फोर हाइपरस्केल डेटा सेन्टर निर्माण गर्ने घोषणा गरेको छ । डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र डेटा सुरक्षालाई सुदृढ बनाउने उद्देश्यका साथ यो परियोजना अघि सारिएको हो ।
नेपाललाई दक्षिण एशियाकै एक विश्वसनीय डिजिटल हबका रूपमा स्थापित गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।
बिचुटेन डेटा भोल्ट स्वदेशी उद्यमीहरू नवीन अग्रवाल, मीन अग्रवाल, अनुज कियाल, विशाल कुमार जाटिया र शरद गोयलको नेतृत्वमा रहेको छ । यस परियोजनाका लागि भीभीडीएन, गुगल क्लाउड, एएमडी र माइक्रोनसँग रणनीतिक साझेदारी गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
परियोजना काठमाण्डौ र वीरगञ्जमा निर्माण हुनेछ । २४० किलोवाट क्षमताबाट शुरू भई सन् २०३० सम्म ५ मेगावाटसम्म विस्तार गर्ने योजना रहेको छ ।
सर्टिफाइड टियर–फोर मापदण्डको यो डेटा सेन्टरले ९९ दशमलव ९९५ प्रतिशत ’अपटाइम’ सुनिश्चित गर्नेछ, अर्थात् वर्षभरिमा २६ मिनेटभन्दा कम मात्र प्राविधिक अवरोध हुनेछ । यो बैंकिङ र दूरसञ्चारजस्ता संवेदनशील क्षेत्रका लागि अत्यन्त महत्त्वपूर्ण छ ।
नेपालको डेटा नेपालभित्रै सुरक्षित राख्ने यस लक्ष्यले विदेशी सर्भरमाथिको निर्भरता घटाउनुका साथै राष्ट्रिय सुरक्षा र साइबर प्रतिरोध क्षमता पनि बलियो बन्ने अपेक्षा छ । पूर्णतया नेपालको जलविद्युतमा आधारित यो डेटा सेन्टर वातावरणमैत्री र ऊर्जा–दक्ष हुने बताइएको छ ।