पोखरा,
प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले आयोजना गरेको तथ्यांक पत्रकारिता (डेटा ड्रिभन) को अन्तिम चरणको तालिम आइतबारदेखि सुरु भएको छ । पहिलो हप्ता भौतिक तालिम त्यसपछिको छ हप्ता अनलाइन र अन्तिम हप्ता पनि भौतिक गरी कुल ८ हप्तासम्म तालिम सञ्चालन हुनेछ । जसमध्ये अन्तिम चरणको भौतिक तालिम आइतबारदेखि सुरु भएको हो ।
तालिमको उद्धाटन सत्रमा बोल्दै प्रेस रजिष्ट्रार बिमला भण्डारीले पत्रकारकै आवश्यकताको आधारमा तालिम राखिएको बताइन । पत्रकारको दक्षता वृद्धिका लागि अनेकन अड्चन झेलेरै भएतापनि यो प्रकृतिको तालिम आयोजना गरिएको उनको भनाई छ । उनले तालिमपश्चात पत्रकारले अरूलाई पनि सिकाउन सक्नेगरि दक्ष बन्नेमा विश्वास गरिन । “अरूलाई पनि सिकाउन सक्ने क्षमता बनाउनु होला । प्राविधिक तालिमको लागि उमेरले छेक्दैन । समय परिपालन गर्नुहोला ।” उनले भनिन ।
तालिममा सहभागी युवराज श्रेष्ठले रजिष्ट्रारको कार्यालयले आवश्यकता अनुसार उत्कृष्ट तालिम आयोजना गरेको भन्दै आगामी दिनमा पनि यस्तै प्रकृतिका तालिम सञ्चालन गर्न आग्रह गरे ।
तालिमका स्रोतव्यक्ति चेतना कुँवरले सबै सहभागीमा सिक्ने इच्छा उत्कृष्ट रहेको बताइन । अर्का स्रोत व्यक्ति उमेश श्रेष्ठले दोश्रो चरणको भौतिक कोर्षबाट तालिममा सहभागी अझै दक्ष बन्ने विश्वास गरे ।
