सुचना, समाचार र मनोरन्जन

नवलपरासीको दाउन्ने खण्ड आउँदो पुस १५ सम्म एकतर्फी सञ्चालन गरिने

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड दुई महिनासम्म एकतर्फी सञ्चालन हुने भएको छ । नारायणघाट–बुटवल सडक विस्तार गर्नुका साथै कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले एकतर्फी रूपमा सञ्चालन गर्न लागिएको हो ।

सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयले सूचना निकालेर दाउन्ने खण्डमा कल्भर्ट निर्माण गर्नुपर्ने काम सम्पन्न नहुञ्जेलसम्मका लागि एकतर्फी सडक बन्द गर्न लागिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार निर्माणको काम हुँदा दुईतर्फी गाडी आवतजावत गर्दा काम प्रभावित हुने भएकाले एकतर्फी सञ्चालन गर्न लागिएको हो ।

आयोजना निर्देशनालयका अनुसार आउँदो पुस १५ गतेसम्मका लागि दाउन्ने खण्ड एकतर्फी रूपमा सञ्चालन गरिनेछ । दाउन्नेमा पानी पर्दा सडक चिप्लो र हिलो हुने भएकाले यातायात प्रभावित हुँदै आएको छ । दाउन्ने खण्ड प्रयोग गर्दा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरी उपरीक्षक खड्काले अनुरोध गरेका छन।

यो खण्डमा अवरोध भएमा वैकल्पिक रूपमा नारायणगढ–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा–बुटवल वा गैँडाकोट कालीगण्डकी चोक–रामपुर–पीपलडाँडा–पाल्पा–बुटवल तथा मोटरसाइकल तथा साना चारपाङ्गे्र गाडीले दुम्किबास–डाँडाजोर–डमार हुँदै भुताहाको मार्ग प्रयोग गर्न सक्छन् ।

Leave A Reply

Your email address will not be published.