काठमाडौं :
निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण हुन लागेको चलचित्र “रातो घेरा – द रेड सर्कल” को आज बिहीबार पाटनस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको छ । असार २५ गतेदेखि छायांकनमा जाने फिल्मको बिहिवार विधिवत रूपमा पटकथा पूजा गर्दै शुभारम्भ गरिएको हो ।
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर सहित करिब दुई दर्जन कलाकारहरूको अभिनय रहने यस चलचित्रको निर्माण विश्राम फिल्म्स प्रा. लि. को ब्यानरमा निर्माण हुन लागेको हो । अधिकांश छायांकन काठमाडौं उपत्यकामा गरिने निर्माण पक्षले जनाएको छ भने चलचित्रको प्रदर्शन मिति समेत तय भइसकेको छ । चलचित्र आगामी मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने छ ।
निर्देशक अनिल बुढा मगरका अनुसार चलचित्र सामाजिक तथा भावनात्मक पक्षमा आधारित कथा प्रस्तुत गर्नेछ । सत्य घटनामा आधारित भएर निर्माण भइरहेको यस फिल्मलाई अझ भव्य, कथात्मक रूपमा सशक्त तथा प्राविधिक रूपमा उच्च स्तरको बनाउन विशेष ध्यान दिइएको निर्माता जीवन गुरुङ ले बताएका छन् । साथै अनुभवी कलाकार तथा दक्ष प्राविधिक टोलीको सहभागिताले चलचित्र अझ प्रभावशाली बन्ने विश्वास व्यक्त गरिएको छ ।
चलचित्रका निर्माता जीवन गुरुङसँगै कविता गुरुङ, भोजेन्द्र गुरुङ (भोज) र सरुन शेरचन रहेका छन् । सह–निर्मातामा सुमन गुरुङ र खेम राना रहेका छन् । फिल्मको संगीत मनोज थापा मगर र सागर आले मगरले तयार गर्नेछन् । वितरण अधिकार काठमाडौंमा काफीया फिल्म्स का गोविन्द शाही र काठमाडौं बाहिर कुवेर सिने डिष्ट्रिब्युसनले लिएका छन् । फिल्मका लेखक राजु स्याङ्तान हुन् भने छायांकन शिशिर बिसंखेले गर्नेछन् । निर्माण नियन्त्रण सन्देश राई, कस्ट्युम डिजाइन जानकी कठायत र प्रकाश व्यवस्थापन गुर्केश गुरुङले सम्हाल्नेछन् । दर्शकहरूले यस चलचित्रमा दयाहाङ राई र मिरुना मगरको जोडीबाट फेरि पनि उत्कृष्ट अभिनय र नयाँ किसिमको सिनेम्याटिक अनुभवको अपेक्षा गर्न सक्ने निर्माण पक्षले जनाएको छ ।
यस चलचित्रमा रजनी गुरुङ, अरुण पुन, सुनिल पोखरेल, भोला सापकोटा, सुरज तमु, खड्ग बहादुर पुन खबपु, सुस्मिता कुवँर, भावना खपाङ्गी मगर, कविता आले, विजय पौडेल, बल बहादुर गुरुङ, इंगी होपो कोइच सुनुवार, उमेश सुनाम, शेखर चापागाई, राम बाबु रेग्मी, सुवास गजुरेल, सुवास सिंह ठकुरी, रमिक सिंह ठकुरी, सुनिल तामाङ तथा डिबी गुरुङ लगायत कलाकारहरूको अभिनय रहनेछ । कार्यक्रममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले सत्य घटनामा आधारित एउटा सुन्दर र राम्रो चलचित्रमा काम गर्न लागेकोले उत्साहित भएका बताएका छन् ।