काठमाडौं :
नायक दयाहाङ राई नेपाली फिल्म क्षेत्रमा सबैभन्दा ब्यस्त अभिनेतामध्ये एक हुन्। वर्षैभरि छायांकन, स्क्रिप्ट पढ्ने, नयाँ फिल्म साइन गर्ने काममा लागिरहने उनी, प्रचारप्रसारमा भने झण्डै अनुपस्थित देखिन्छन्। यतिबेला पनि उनी एकपछि अर्को फिल्मको छायांकनमा दौडिरहेका छन्, तर रिलिज हुन लागेको फिल्महरूको प्रचारमा सहभागी छैनन्।
हालै प्रदर्शनमा आएको फिल्म ‘महाभोज’को प्रचारमा उनले कुनै समय दिएनन्। जब फिल्म रिलिज हुँदै थियो, उनी अर्काे फिल्म ‘जारी २’ को छायांकनमा ब्यस्त थिए। त्यसको छायांकन सकिएपछि उनी तुरुन्तै ‘मिरमिरे’ नामक अर्को फिल्मको छायांकनमा गएका छन्। यसबीचमा उनी केही नयाँ फिल्मको स्क्रिप्ट पनि सुन्दै थिए।
दयाहाङ अहिले ‘मिरमिरे’को छायांकन सकेपछि ‘जारी २’को प्रचारमा लाग्ने तयारीमा छन्। ‘जारी २’ असोज ३ गतेबाट प्रदर्शनमा आउँदैछ। तर, भदौ २० गते रिलिज हुन लागेको अर्को फिल्म ‘रिमै’का लागि भने उनले कुनै प्रचार गतिविधिमा सहभागिता जनाएका छैनन्। उनले फिल्मको टिजरसमेत सामाजिक सञ्जालमा सेयर गरेका छैनन्। प्राविधिकहरूको पारिश्रमिक नपुन्जेल प्रचार नगर्ने अडान दयाहाङले लिएका छन्।
उनले अभिनय गरेको अर्को फिल्म ‘वरिष्ठ बलराम’ कात्तिक ३ गतेबाट प्रदर्शनमा आउँदैछ। तर, यो फिल्मको प्रचारमा पनि दयाहाङ सहभागी हुने संभावना कम छ, किनभने दशैंको टीकाको भोलिपल्टदेखि उनी ‘कबड्डी ५’ को छायांकनमा लाग्ने पक्का भइसकेको छ।
यो वर्ष प्रदर्शन मिति तय भएका उनका दुई फिल्म ‘डबल ट्रिपल’ र ‘मितज्यू’ पनि छन्। ‘डबल ट्रिपल’ फागुन १ र ‘मितज्यू’ चैत्र २७ मा रिलिज हुने तय भइसकेको छ। तर यी फिल्महरूको प्रचारमा उनी कहिले समय दिने हुन् भन्ने अझै स्पष्ट छैन। यता माओत्से गुरुङको निर्देशनमा बन्ने फिल्म ‘पेन्सन पट्टा’को टिम पनि दयाहाङकै समय कुरेर बसेको छ।
एकपछि अर्को फिल्मको छायांकनमा व्यस्त दयाहाङ राई प्रचारमा भने किन चुकिरहेछन् भन्ने प्रश्न उठ्न थालेको छ। दर्शकमाझ लोकप्रियता र प्रभाव राख्ने अभिनेता भए पनि उनले अभिनयजस्तै प्रचारलाई पनि प्राथमिकता दिनुपर्ने आवाज फिल्मकर्मी र दर्शक दुबैबाट सुनिन थालेको छ।