काठमाडौं :
गोल्डेन वल्फ पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्म ‘डियर काव्या’को औपचारिक घोषणा गरिएको छ। बिहीबार बिजेश्वरीस्थित होटल बज्रमा आयोजित भव्य समारोहमा ३० फिट लामो पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो।
फिल्ममा उपासना सिंह ठकुरी र बिक्की समशेर खड्का मुख्य भूमिकामा देखिनेछन्। बिक्कीका लागि भने ‘डियर काव्या’ डेब्यु चलचित्र हुनेछ। उनी थिएटरका विद्यार्थी हुन्। सार्वजनिक पोस्टरमा उपासना र बिक्कीलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ। पोस्टरमा बिक्कीको घाँटीमा रहेको गलबन्दी उपासनाले तान्दै उनलाई नजिक ल्याएको देखिन्छ। पोस्टरको पृष्ठभूमिमा नेपालगन्ज शहरसँगै कर्णाली पुललाई देखाइएको छ। फिल्मलाई श्रद्धा प्रसाईंले निर्देशन गर्नेछिन्। उनका लागि यो दोस्रो निर्देशकीय फिल्म हो।यसअघि उनले निर्देशन गरेको ‘ककाकिकी’ प्रदर्शनको तयारीमा छ। ‘डियर काव्या’को छायांकन आगामी मंसिरबाट सुरु गर्ने निर्माण पक्षले जनाएको छ।फिल्ममा गौरी मल्ल, तृप्ति नाडकर, अनुप बराल,सन्तोष थापा र खड्गबहादुर पुन मगर लगायत कलाकारको अभिनय रहनेछ।
फिल्मका निर्माता देवी सिंह र हेमकुमारी भेटुवाल हुन् भने दिया मास्के र सन्दीप दंगोल कार्यकारी निर्माता रहेका छन्। इन प्रोड्युसर अर्जुन पौडेल हुन्।फिल्ममा मेकअपको जिम्मेवारी प्रिया कार्कीले सम्हाल्नेछिन्। फिल्मको औपचारिक घोषणाका क्रममा निर्देशक श्रद्धा प्रसाईंले आफूलाई विश्वास गरेर निर्देशनको जिम्मेवारी दिइएकोमा खुसी व्यक्त गरिन्। उनले यो आफ्नो दोस्रो निर्देशकीय फिल्म भएको बताउँदै यसअघि निर्देशन गरेको ‘ककाकिकी’ पनि प्रदर्शनको तयारीमा रहेको जानकारी दिइन्।
‘डियर काव्या’का लागि पनि आफूहरूले भरपूर मेहनत गर्ने उनको भनाइ थियो। कार्यकारी निर्माता दिया मास्केले निर्माताका रूपमा फिल्ममा आफ्नो पहिलो यात्रा सुरु गर्न लागेको बताइन्। फिल्म निर्माण आफ्ना लागि नयाँ अनुभव हुने उल्लेख गर्दै उनले फिल्मबारे थप जानकारी क्रमशः सार्वजनिक गर्दै जाने बताइन्।
डेब्यु अभिनेता बिक्की समशेर खड्काले आफ्नो पहिलो फिल्मका लागि आफूलाई विश्वास गरेर अवसर दिएकोमा निर्माण टिमप्रति आभार व्यक्त गरे।उनले दिया मास्के र अनुप बराल आफ्ना अभिनय गुरु रहेको उल्लेख गर्दै उहाँहरूले आफूलाई विश्वास गरेर फिल्ममा लिएको बताए ।
त्यस्तै, अभिनेत्री उपासना सिंह ठकुरीले ‘डियर काव्या’का लागि आफूलाई छनोट गरेकोमा निर्माण टिमप्रति आभार व्यक्त गरिन्। विशेषगरी दिया मास्केलाई धन्यवाद दिँदै उनले महिला निर्देशकसँग पहिलोपटक काम गर्न लागेकाले आफू उत्साहित रहेको बताइन्। निर्माण पक्षका अनुसार फिल्मको कथावस्तु तथा अन्य प्राविधिक पक्षबारे थप जानकारी आगामी दिनमा सार्वजनिक गरिनेछ। फिल्मको छायांकन मंसिरबाट सुरु गर्ने तयारी भइरहेको छ।