सोनिया खत्री,
आज असार १५, देशभर धान दिवस भव्य रूपमा मनाईदैछ । गाउँदेखि सहरसम्म, टेलिभिजन देखि टिकटकसम्म, हिलोमा लट्पटिएका अनुहार, असारे गीतमा नाच्दै रमाइरहेका युवा–युवती, सजाइएको खेत, मख्ख परेका अनुहारहरूको दृश्य सामाजिक सञ्जालमा छ्यापछ्याप्ती !
तर यस्ता दृश्यले गर्वभन्दा बढी चिन्ताको संकेत गर्छन्। ती तस्वीरहरूमा देखिने अनुहारमध्ये धेरैका लागि खेत केवल फोटो खिच्ने स्थान मात्र हो। त्यस माटोमा वर्षौँदेखि पसिना बगाउँदै आएका किसानहरू भने त्यही खेतको किनारबाट हेरेर बस्न विवश छन् — जहाँ उनीहरूको श्रम, पीडा र आशा कुनै फ्रेममा कैद हुँदैन।
उनीहरू रोपाइँका लागि त बोलाइन्छन्, तर गोडमेल, सिँचाइ र मलको चासो कसैले लिँदैन। एकदिने उत्सवपछि उनीहरू फेरि एक्लै रहन्छन् — राज्यबाट बेवास्ता र समाजबाट विस्मृत।
राजनीतिकर्मीहरू फेरि पनि गमलामा धान रोप्दै गरेको फोटो पोस्ट गर्नेछन्। कतिपय त रोप्न ठिक्क पारिएको बीउलाई बेहुलाका गलामा हालिने दुबोको मालाझैँ भिरेर मख्ख पर्न पनि पछि पर्ने छैनन्। खेतको हिलोभन्दा चम्किलो हुन्छ तिनको लुगा, र खेतको उकुसमुकुस भन्दा चञ्चल क्यामेराको फ्ल्यास। अनि यही कृषक, यही किसान, फेरि अर्को असारको पर्खाइमा कृषि कार्यालयको ढोका धाउँछ—सस्तो बीउ, मल र सहुलियत ऋण खोज्दै।
धान दिवसको वास्तविक मर्म वर्षौंदेखि ओझेलमा पर्दै गएको छ। कृषकप्रति कृतज्ञता, खाद्य सुरक्षाको चिन्ता, र माटोप्रतिको सम्मान आज ‘मनोरञ्जन’ को नाममा बर्बादीमा परिणत भएको छ। असारे गीत अब गोडमेलको लयमा होइन, टिकटकको भिडमा बज्छ।खेतमा हलोले जोत्नुपर्ने ठाउँमा अब मोबाइल ट्राइपड ठड्याइन्छ।
आउँदो पुस्ताले यसबाट के सिक्ने? के खेतमा पसिना बगाउने प्रेरणा पाउने, कि खेतलाई रमाइलोको पृष्ठभूमि मात्र ठान्ने? यदि अहिलेको पुस्ताले केवल ‘खेत . मनोरञ्जन’ भनेर बुझ्दै गयो भने, माटोसँगको हाम्रो आत्मीय सम्बन्ध पुस्तान्तरणको क्रममा हराउँदै जान्छ।
अब सोच बदल्नुको बेला आएको छ। उत्सव हुनु पर्छ — तर चेतनासँगै। रमाइलो हुनु पर्छ — तर जिम्मेवारीपूर्वक। धान दिवस नाटक होइन, नीति र निष्पक्षता सम्झने दिन होस्। मल, बीउ, सिँचाइ र बजार सुनिश्चित हुने दिशामा सरकार र सरोकारवालाहरूको ध्यान केन्द्रित होस्।
हिलोमा लट्पटिनु रमाइलो अवश्य हो, तर त्यो रमाइलो अर्थपूर्ण तब हुन्छ, जब त्यो माटोलाई सम्मान र भविष्य दुवै दिन सक्छ। हामीले अब आफ्नै मनसँग एकचोटि गम्भीर प्रश्न गर्नुपर्छ— म साँच्चै माटोको पर्व मनाउँदै छु, कि माटोको मजाक गरिरहेको छु?