सुचना, समाचार र मनोरन्जन

पोखरा–दुबई उडान सफल बनाउन मेयर आचार्यको सार्वजनिक आह्वान

पोखरा,

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको नियमित अन्तर्राष्ट्रिय उडानलाई सफल र दिगो बनाउन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सर्वसाधारण तथा पर्यटन व्यवसायीलाई पोखरा–दुबई उडान प्रयोग गर्न सार्वजनिक आह्वान गरेका छन्।

फ्लाई दुबईमार्फत पोखरा भित्रिने यात्रुको तुलनामा पोखराबाट दुबई जाने यात्रुको सङ्ख्या न्यून देखिएपछि मेयर आचार्यले आगामी तीनदेखि चार महिनालाई विशेष प्राथमिकतामा राखेर पोखराबाटै अन्तर्राष्ट्रिय यात्रा गर्न आग्रह गरेका हुन्।

काठमाडौंको तुलनामा पोखराबाट दुबईको हवाई भाडा तुलनात्मक रूपमा सस्तो रहेको उल्लेख गर्दै उनले सुरुवाती चरणको यो उडानलाई निरन्तरता दिन सके मात्रै पोखरा विमानस्थलबाट भविष्यमा थप अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सहज हुने बताए।

उनले अहिले आवश्यक पहल गर्न नसके भविष्यमा पछुताउनुको अर्थ नहुने भन्दै पोखरा–दुबई उडानलाई कुनै व्यक्ति वा संस्थाको पक्ष–विपक्षको विषयभन्दा माथि उठेर पोखराको पर्यटन र समग्र भविष्यसँग जोडिएको साझा जिम्मेवारीका रूपमा लिन आग्रह गरेका छन्।

Chaka Panja

उडानलाई सहज बनाउन तथा यात्रुको बुकिङ बढाउन महानगरपालिकाले प्रदेश र सङ्घीय सरकार, निजी क्षेत्र तथा पर्यटन व्यवसायीसँग आवश्यक समन्वय गरिरहेको जनाएको छ।

मेयर आचार्यले पोखरा मात्रै नभई धौलागिरी, चितवन–भरतपुर र बुटवल क्षेत्रका यात्रुलाई समेत पोखराबाटै दुबई यात्रा गर्न आग्रह गरेका छन्। व्यावसायिक तथा समूहगत यात्राका लागि विशेष सहुलियतको व्यवस्था गर्न एयरलाइन्ससँग अनुरोध गरिएको उनले बताएका छन्।

त्यसैगरी, यात्रुका लागि आवश्यक भिसा तथा प्रहरी रिपोर्टलगायतका प्रक्रियामा सहजीकरण भइरहेको छ। भारतीय नागरिकका लागि आवश्यक ‘नो अब्जेक्सन लेटर’ पोखरा पेन्सन क्याम्पबाटै उपलब्ध गराउने व्यवस्था मिलाउन भारतीय दूतावाससँग समेत पहल भइरहेको मेयर आचार्यले बताएका छन्।

यात्रुलाई आवश्यक जानकारी तथा सहजीकरणका लागि फ्लाई दुबईले पोखराको पुरानो विमानस्थल अगाडि डेडिकेटेड डेस्क सञ्चालनमा ल्याएको छ। त्यहाँ लिना महर्जनलाई ९८५६०२०००० वा ९७१४५९२०३० मा सम्पर्क गर्न सकिनेछ।

त्यस्तै, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीले जरेवरमा डेडिकेटेड डेस्क सञ्चालन गरेको छ। जानकारीका लागि प्रमोद सापकोटालाई ०६१–४५३११४ वा ९८५६०६३११४ मा सम्पर्क गर्न सकिनेछ।

Leave A Reply

Your email address will not be published.