सुनसरी : यतिबेला धरानमा बुढासुब्बा गोल्डकपको चर्चा निक्कै भइरहेको छ । धरानलाई चिनाउने थुप्रै मिथक छन् तर खेलकुदको शरह भनेर चिनाउने एउटै मात्र प्रतियोगिता भनेको बुढासुब्बा गोल्डकप हो ।
कोशी पहाडको प्रवेशद्वार धरानलाई थुप्रै मिथक र विषयले चिनिन्छ, सौखिन, फेसनेवल र लाहुरेको शहर भनेर चिनिएको धरानलाई पछिल्लो समय खेलकुदप्रेमीको शहर भनेर चिन्न थालिएको छ । खेलकुदको शहर भनेर चिनाउने कार्यमा बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको भूमिका महत्वपूर्ण रहेको छ ।
‘बुढासुब्बा गोल्डकप मेरो सपनाजस्तै हो,’ ‘पूर्वराष्ट्रिय खेलाडी साथै धरान फुटबल क्लबका मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले भने, ‘सुरुवाती समयमा खेलाडी हुँदा धरानमा एउटा गोल्डकप बनाउँछु भनेर सपना बोकेर हिँडे त्यो सपना आज पूरा भएको छ ।’
उनले भने, ‘धरान बुढासुब्बा गोल्डकप आज एउटा प्रतिष्ठाको रूपमा उभिएको छ । २०५५ सालमा सालमा धरान फुटबल क्लबको स्थापना गरी २०५५ सालदेखि बुढासुब्बा गोल्डकपको आयोजना गरी निरन्तर सञ्चालन हुँदै आएको एक मात्र प्रतियोगिताले धरानलाई खेलकुलको शहर भनेर परिचित गराउन मुख्य भूमिका भने बुढासुब्बा गोल्डकपले खेलेको छ ।
राईले धरानमा धरान फुटबल क्लबको स्थापना गरी अन्तर्राष्ट्रियस्तरको फुटबल बुढासुब्बा गोल्डकप प्रतियोगिता सुरु गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको अनुभव सुनाए । सानै उमेरबाट फुटबल खेलप्रति रुचि राख्दै राष्ट्रिय खेलाडीको रूपमा आफ्नो ‘करियर’ सुरु गरेको उनले बताए । उनले भने, ‘यहाँसम्म पुग्दा सहज भने पक्कै थिएन सबैको साथ सहयोग र हौसलाले गर्दा धरान फुटबल क्लबले पहिलोपटक बुढासुब्बा गोल्डकपको आयोजना गरेको हो ।’
उनको अनुभवले धरानमा फुटबलको विकासमा महत्वपूर्ण भूमिका र योगदान पुर्याएको छ । अध्यक्ष राईकै पहलमा २०५९ सालमा धरान उपमहानगरपालिका–१७ मा पूर्वाञ्चल एन्फा एकेडेमी टेक्निकल सेन्टरको स्थापना भएको हो । जुन एकेडेमीले अहिले सयौँ खेलाडी उत्पादन गरिरहेको छ ।
उनले भने, ‘बुढासुब्बा गोल्डकप सुरु भएसँगै धरानमा फुटबल र खेलप्रतिको क्रेज बढ्दै गयो । अन्य खेलको पनि महत्व छ तर बुढासुब्बा गोल्डकप नेपालकै पुरानो र सम्मानित फुटबल क्लबमध्ये एक मानिन्छ । बुढासुब्बा गोल्डकपले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा धरानलाई चिनाएको छ ।’ बुढासुब्बा गोल्डकपले धरानलाई मात्र चिनाएन, धरानका खेलाडीसमेतलाई चिनायो । नेपालका ‘ए’ डिभिजन क्लबमा धरानका खेलाडीले प्राथमिकता पाए अहिले सयौँ खेलाडीले फुटबल ‘करिअर’ बनाएको राईको अनुभव छ ।
धरान प्रकृति सौन्दर्य र संस्कृतिको विविधता भएको ठाउँको रूपमा परिचित छ । यसमा थप पहिचान दिलाउने काम भने बुढासुब्बा गोल्डकपले गरेको छ । धरान उपमहानगरपालिका–१५ का सागर घिमिरे सानै उमेरदेखि खेलाडी बन्ने सपना बोकेर चार वर्षको उमेरदेखि फुटबल खेल खेल्न सुरु गरेको सुनाउँछन् । फुटबल खेलमै आफ्नो भविष्य देखेका घिमिरे अहिले बुढासुब्बा गोल्डकपको कोच छन् । सानै उमेरदेखि खेलमा रुचि राख्ने उनी फुटबल खेल्न सिक्नका लागि हरेक खेलकुद मैदान पुग्ने गरेको अनुभव सुनाउँछन् ।
उनले भने, ‘घर परिवारमा कोही पनि खेलप्रति रुचि नराख्ने परिवारमा म मात्र हो खेलप्रति रुचि भएको, सानो उमेरमा साथीभाइले खेलेको फुटबल देख्दा आकर्षित भए यसरी नै खेलप्रतिको मेरो ‘क्रेज’ बढ्दै गयो ।
पूर्वखेलाडी घिमिरेले बुढासुब्बा गोल्डमै २३ पटक कोचको भूमिका निर्वाह गरिसकेका छन् । ‘यसको सबै श्रेय भने बुढासुब्बा गोल्डकपलाई जान्छ’, उनले भने, ‘जुन समय मलाई लाहुरे बन्ने सपना नभएको चाहिँ हैन, तर धरान फुटबल क्लबबाट फुटबल खेल्न सुरु गरेपछि लाहुर बन्ने सपना छोडेर खेलाडी भन्ने सोचले अगाडि बढ्न थालेँ । अहिले ताइवान, भुटान, चीनलगायतका देशमा भाग लिई फुटबल लिगहरू खेलिसकेको छु ।’
बुढासुब्बा गोल्डकप प्रतियोगिताले ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको छ । धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले भने, ‘यो खेलको नाम बुढासुब्बा मन्दिरसँग जोडिएको छ । जुन धरानको ऐतिहासिक धार्मिक स्थल हो, धरानलाई खेलकुदको शहरका रूपमा मात्र बुढासुब्बा गोल्डकपले चिनाएन पर्यटनको केन्द्रका रूपमा पनि स्थापित गर्न ठूलो योगदान पुर्याएको छ ।’
बुढासुब्बा गोल्डकपले नेपाली फुटबलमा नै नयाँ लहर ल्याएको वरिष्ठ पत्रकार हर्ष सुब्बाले बताए । बुढासुब्बा गोल्डकप सुरु भएसँगै धरानमा दर्जनौँ गोल्डकप खेल सुरु भएको उनको भनाइ छ । उनले भने, ‘पहिले राम्रो खेलाडी बन्नको लागि काठमाडाैं, पोखरालगायतका ठाउँमा गएर खेलको तालिम लिनुपर्ने अवस्था थियो । पछिल्लो समय बुढासुब्बा गोल्डकप सुरु भएसँगै यसले ल्याएको लहरले काठमाडौं मात्र नभएर बाहिरी देशका खेलाडीसमेत बुढासुब्बा गोल्डकपले चिनाउने गरेकाले बुढासुब्बा गोल्डकप धरानको मात्र नभएर नेपालकै उदाहरणीय गोल्डकपको रूपमा स्थापित भएको छ ।’
बुढासुब्बाको गोल्डकपको २५ औँ संस्करण
बुढासुब्बा गोल्डकपको २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण संस्करण यही माघ १९ गतेबाट सुरु हुने भएको छ । प्रतियोगिताको लागि आर्थिक समिति खेलाडी, समिति प्रचारप्रसार समिति सुरक्षा समितिलगायतका समिति बनाइएको अध्यक्ष तामाङले बताए । साथै, खेल अवधिभर सुरक्षा व्यवस्थालाई चुस्त पारिने उनले बताए ।
क्बलले खेलको तालिकासमेत सार्वजनिक गरिसकेको छ । १९ गते पहिलो खेल सहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज र चार पटकको बिजेता पुलिस क्लबबीच हुने अध्यक्ष तामाङले बताए ।
धरान उपमहानगरपालिका–१६ रङ्गशालामा हुने प्रतियोगितामा १० वटा क्लबको सहभागी रहनेछ । प्रतियोगितामा एनआरटी क्लब काठमाडौं, लिग च्याम्पियन चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, भुटान फुटबल एकाडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृती क्लब, युके एफसि भारत, मच्छ्रिन्द्र क्लब काठमाडौं, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र धरान फुटबल क्लब रहने आयोजकले जनाएको छ ।
प्रतियोगिताका विजेताले ट्रफीसहित १० लाख र उपविजेताले नगद पाँच लाख पुरस्कार पाउनेछन् । यसमा उत्कृष्ट खेलाडीले नगद एक लाख र प्रत्येक खेलको प्लेयर अप दि म्याच हुनेले १५ हजार सर्वाधिक गोलकर्ताले ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार पुरस्कार पाउने अध्यक्ष तामाङले बताए ।