काठमाडौं ।
लामो समयदेखि मेकअप आर्टिष्टका रूपमा सक्रिय रेनु पुन मगर (जमुना पुन मगर)ले गोंगबुको टोखा रोडस्थित नर्थ पार्क प्लाजामा ‘जे एन्ड जे युनिसेक्स सलुन एन्ड क्याफे’ सञ्चालनमा ल्याएकी छन्। उक्त सलुन तथा क्याफेको बुधबार औपचारिक शुभारम्भ गरिएको हो।
सलुनको उद्घाटन लोकप्रिय अभिनेता धिरेन शाक्य, वरिष्ठ सौन्दर्यकर्मी कमला श्रेष्ठ, र्याप गायक निर्णय एनएचके तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले संयुक्त रूपमा रिबन काटेर गरेका थिए।
समारोहमा उपस्थितलाई स्वागत गर्दै जे एन्ड जे क्याफेका सञ्चालक ज्याक बुढाथोकीले सलुनसँगै नर्थ पार्क प्लाजा र आसपासका ग्राहकलाई लक्षित गर्दै क्याफे सञ्चालनमा ल्याइएको जानकारी दिइन्।
सलुनकी अध्यक्ष तथा मेकअप आर्टिष्ट रेनु पुन मगरले आफ्नो सलुनमा महिला तथा पुरुष दुवैका लागि हेयर, स्किन, मेकअप र ब्युटी सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको सेवा उपलब्ध गराइने बताइन्। उद्घाटनको अवसरमा विशेष छुटको व्यवस्था गरिएको पनि उनले जानकारी दिइन्।
अभिनेता धिरेन शाक्यले आफू सौन्दर्यप्रति सजग रहने गरेको उल्लेख गर्दै युनिसेक्स पार्लरमा जाने बानी रहेको बताए। उनले आधुनिक सुविधासम्पन्न उक्त सलुनलाई आफ्नो सौन्दर्य हेरचाहको नयाँ गन्तव्यका रूपमा लिँदै रेनुलाई सफलताको शुभकामना व्यक्त गरे।
वरिष्ठ ब्युटिसियन कमला श्रेष्ठले रेनुले १६ वर्षअघि आफूसँग मेकअप तालिम लिएर यो क्षेत्रमा प्रवेश गरेको स्मरण गरिन्। उनले रेनु आज सफल मेकअप आर्टिष्टका रूपमा स्थापित भएको भन्दै खुसी व्यक्त गरिन् र नयाँ पुस्तालाई पनि यस क्षेत्रमा आउन प्रेरित गरिन्।
महाप्रबन्धक किरणबाबु पुनले पछिल्ला वर्षहरूमा ब्युटिसियनसम्बन्धी शिक्षा प्लस टु पाठ्यक्रममा समेत समावेश भएको उल्लेख गर्दै जे एन्ड जे सलुनले आधुनिक सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे।
समारोहमा गायिका मञ्जु पौडेलले रेनुको संघर्ष र सफलताको यात्राबारे प्रकाश पारेकी थिइन् भने रेनुकी आमाले छोरीको नयाँ व्यवसायको सफलताको कामना गर्दै आशीर्वाद दिएकी थिइन्।
गुल्मीबाट ब्युटिसियन पेसा सुरु गरेकी रेनु पुन मगर दुई दशकदेखि सौन्दर्य क्षेत्रमा सक्रिय छिन्। काठमाडौं आएर विशेष प्रशिक्षण लिई मेकअप स्टुडियो सञ्चालन गरेपछि उनले हाल ‘जे एन्ड जे युनिसेक्स सलुन एन्ड क्याफे’मार्फत आफ्नो व्यवसाय विस्तार गरेकी हुन्।