सुचना, समाचार र मनोरन्जन
Auto

हावाहुरीले उखु ढलेपछि पोखरा ३२ ढोडबेसीका किसान मर्कामा, १६० रोपनीको उखु नष्ट

वर्षेनी ५० देखि ६० लाख रुपैयाँ आम्दानी गर्दै आएका ढोडबेसीका किसानको हावाहुरीका कारण ३० देखि ३५ लाखको नोक्सानी भएको छ ।

सन्तोष बस्याल
पोखरा ।

कास्कीको पोखरा महानगरपालिका भित्र ठूलो मात्रमा उखु खेती हुने स्थान हो पोखरा ३२ ढोरबेसी । २ सय २७ रोपनी जग्गामा उखुको मात्रै खेती गरिँदै आएको छ । ढोडबेसीका स्थानीयहरुको आम्दानीको स्रोत नै त्यहि हो । स्थानीयले नै ढोडबेसी बहुउद्देश्यीय नमूना कृषक समूह गठन गरि सामूहिक रुपमा खेती गर्दै आएका छन् ।

बाउबाजेका पुरानो पेसालाई आत्मासात् गर्दै ढोडबेसीका स्थानीयले बजारीकरणलाई समेत ख्याल गर्दै आएका छन् । उनीहरुको दैनिकी नै उखु खेतीमा बित्छ भन्दा फरक नपर्ला । कास्कीको पोखरा महानगरपालिका त्यो पनि यत्तिको ठूलो क्षेत्रफलमा उखु खेती हुँदा पनि राज्यबाट जुन किसिमको हौसला प्राप्त गर्नुपर्ने हो त्यो भएको देखिदैन ।

यही भदौ १६ गते बिहान आएको हावाहुरीले उखु नै नष्ट हुँदा अहिले त्यहाँका किसान मर्कामा परेका छन् । उत्पादन हुने बेलामा हावाहुरीका कारण भएको क्षतिले किसान पिरोलिएको अवस्था छ ।

हावाहुरीले ढलेको ढोरबेसीको उखु

 

ढोडबेसी बहुउद्देश्यीय नमूना कृषक समूहका अध्यक्ष यज्ञ प्रसाद अधिकारीका अनुसार २ सय २७ रोपनीमा १ सय ६० रोपनीको उखु सबै हावाहुरीले नष्ट भएको छ । भन्छन्,‘प्रतिफल आउने समयमा हावाहुरीले क्षति गराउँदा हामी मर्कामा छौं । संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले ढोडबेसीका किसानको पीडा बुझेर अनुदान उपलब्ध गराउनुपर्यो ।’

sfal

वर्षेनी ५० देखि ६० लाख रुपैयाँ आम्दानी गर्दै आएका ढोडबेसीका किसानको हावाहुरीका कारण ३० देखि ३५ लाखको नोक्सानी भएको उनले बताए ।

ढोडबेसीमा उत्पादन हुने उखुलाई प्रशोधन गरी खुदो बनाएर बजारीकरण गरिन्छ । कृषक समूहले नै उक्त काम गर्छ । किसानका लागि आएका अनुदानमा सिमितता र राजनीतिकरण हुँदा पाउन समेत वास्तविक किसान समस्यामा परेको अधिकारीले बताए ।

ढोडबेसीमा मंसिरको अन्तिम साता उखु लगाइन्छ । त्यसको उत्पादन माघको पहिलो साता नै हुने गरेको अधिकारीले बताए । ‘हामीले उत्पादन मात्रै होइन । बजारीकरणमा समेत ख्याल गरेका छौं । उत्पादित उखुबाट खुदो बनाएर समूहकै नाममा बजारमा बिक्रीवितरण पनि गर्छौं । बिचौलियाको भर पर्नु परेको छैन ।’

अधिकारीका अनुसार हावाहुरीका कारण पहिलो पटक यत्तिको ठूलो क्षति बेहोर्नुपरेको घटना यो पहिलो हो । अब उनको आश सरकार सँग मात्र छ । उसो त यसअघि पनि पोखरा महानगरपालिकाले उपलब्ध गराएको अनुदानमा ढोडबेसीका ६० जना कृषकलाई जनही १५ सयका दरले अनुदान वितरण गरिएको थियो ।

हावाहुरीले पुर्याएको नोक्सानीको भरपाई सरकारले गरिदिए किसानको पीडा सेलाउनेछ । ढोडबेसीका नागरिकले पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारसँग ठूलो अपेक्षा गरेका छन् ।

तस्विर : दिपक अधिकारी,लेखनाथ

Leave A Reply

Your email address will not be published.