सुचना, समाचार र मनोरन्जन

आखिर खुल्यो ‘बाः एक योद्धा’को सस्पेन्स—दिव्यदेव मुख्य भूमिकामा, झरना–सुहाना पहिलोपटक आमा–छोरीको जोडीमा

काठमाडौं :

लामो समयदेखि सस्पेन्स कायम राख्दै आएको चलचित्र ‘बाः एक योद्धा’ले अन्ततः आफ्ना मुख्य कलाकार सार्वजनिक गर्न थालेको छ। छायांकन सुरु भएदेखि नै कलाकारको नाम गोप्य राखेको निर्माण टिमले अब भने बिस्तारै पात्रहरू खुलाउँदै गएको हो।

निर्माण पक्षले अभिनेता दिव्यदेव पन्तलाई मुख्य भूमिकामा अनुबन्धित गरिएको जानकारी दिएको छ। यसअघि कुनै औपचारिक जानकारी नदिइएको अवस्थामा छायांकन सेटबाट अभिनेत्री झरना थापा र उनकी छोरी सुहाना थापाका तस्वीर सार्वजनिक भएसँगै दर्शकको कुतूहल केही हदसम्म मेटिएको थियो।

विशेष कुरा, झरना र सुहानाले पहिलो पटक एउटै फिल्ममा सँगै अभिनय गर्दैछन्। अझ रोचक पक्ष के छ भने, वास्तविक जीवनका यी आमा–छोरी पर्दामा पनि आमा–छोरीकै भूमिकामा देखिनेछन्। अब दिव्यदेवको प्रवेशसँगै फिल्मको कलाकार टोली थप मजबुत र सन्तुलित देखिएको छ। यद्यपि, उनको भूमिकाबारे भने निर्माण टिमले अझै खुलासा गरेको छैन।

नेपाली संगीत क्षेत्रमा स्थापित नाम हरि लम्साल यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गर्दैछन्। उनले फिल्मको कथा र पटकथा पनि आफैं तयार पारेका हुन्। सामाजिक तथा भावनात्मक कथामा आधारित यो फिल्मले एक बाबुको संघर्ष, त्याग र सन्तानप्रतिको जिम्मेवारीलाई मुख्य विषयवस्तु बनाएको छ।

‘आर्टिस्टिक इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भइरहेको चलचित्रका निर्माता वसन्त लम्साल हुन्। छायांकन शिवराम श्रेष्ठले गरिरहेका छन् भने मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने रहेका छन्।

गत चैत ९ गतेबाट सुरु भएको छायांकन अहिले काठमाडौंका विभिन्न स्थानमा अन्तिम चरणमा पुगेको छ। निर्माण टिमले छायांकन सकिएपछि मात्रै पोस्ट-प्रोडक्सनको अवस्था हेरेर प्रदर्शन मिति घोषणा गर्ने तयारी गरेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.