पोखरा,
पोखरा महानगरपालिका ९ ले वडावासीहरुलाई वडाप्रति दायित्वबोध गराई हातेमालो गर्दै वडाको विकासमा लाग्ने उद्धेश्यले ‘म बनाउछु मेरो वडा’ अभियानको औपचारिक रूपमा शुभारम्भ गरेको छ । वडाअध्यक्ष दिपेन्द्र मर्सानीको शक्रियतामा उक्त अभियान शुक्रबारदेखि संचालनमा आएको हो ।

अभियान अन्तरगत वडा भित्रका खाली ठाउँहरुमा वृक्षारोपण, सरसफाई, विकास निमार्ण देखि सुशासनका कामहरु थप व्यवस्थित तरिकाले संचालन हुनेछन ।
कार्यक्रमको उद्देश्य भ्रमण वर्ष २०२५ लाई सफलतापूर्वक सम्पन्न गर्नु र स्थानीय समुदायको समृद्धि र विकासमा ठोस योगदान पु¥याउनु रहेको वडा अध्यक्ष मर्सानीले बताएका छन । पर्यटन प्रवद्र्धन, पूर्वाधार विकास, र सामुदायिक सहभागितालाई यस अभियानले सहयोग पुर्याउनेछ ।
शुभारम्भ कार्यक्रममा वडाअध्यक्ष मर्सानीले भने, “यो हाम्रो समुदायको गौरव र भविष्यको लागि उठाइएको पहिलो कदम हो । वडा नं ९ बाट सुरु भएको यो अभियान, अब सम्पूर्ण वडाहरूमा प्रगतिको बाटो खोल्नेछ ।” उक्त कार्यक्रमलाई स्थानीय वडावासी तथा सरोकारवालाहरूले यसलाई एकताको प्रतीक र आशाको किरणका रूपमा स्वागत गरेका छन ।
