काठमाडौं :
शुक्रबार (आज)बाट अञ्जना बराईली अभिनित फिल्म ‘डोरी’ नेपालभरका हलहरूमा प्रदर्शनमा आएको छ। देशभर करिब १२० शो सहित यो फिल्म रिलिज भएको हो।
बुधबार यो फिल्मलाई केन्द्रीय चलचित्र जाँच पास समितिले ‘पिजी’ प्रमाणपत्र प्रदान गरेको थियो। जसका कारण यो फिल्म हेर्नका लागि १६ वर्ष मुनिका बालबालिकाले अभिभावकका साथमा मात्र हेर्न पाउनेछन्।अरुण लामा निर्देशित यो फिल्मले सामाजिक कथामा हास्य रस, थ्रिल र हररलाई मिश्रणलाई प्रस्तुत गरेको छ।
‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका भने यो फिल्मको मुख्य कलाकारमा उनी आफै देखिएका छन्। उनका अलवा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मी, लगायतका कलाकारहरूको अभिनय रहेको छ।
फिल्मका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन्। फिल्मको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, छायाङ्कन निर्देशक सौरभ लामा, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजक रेनीश फागो रहेका छन्।
यसअघि हलमा लागेका फिल्म ‘लाज शरणम्’,‘अञ्जिला’,‘होस्टेल ३’,‘द्रोपती’,‘आउट ल : दफा २१९’,‘राजागञ्ज’का साथै बलिउड अभिनेता सलमान खान अभिनित ‘सिकन्दर’हलमा चलिरहेको छ। यो बाहेक अन्य फिल्म पनि प्रदर्शनमा रहेका छन्।