पाकिस्तानले अफगानिस्तानबाट आफ्नो भूभागतर्फ ड्रोन आक्रमणको प्रयास भएको दाबी गर्दै त्यसको जवाफी कारबाहीस्वरूप अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन आक्रमण गरेको जनाएको छ । पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री अताउल्लाह तारारले ती स्थान ड्रोन प्रक्षेपण तथा भण्डारणका लागि प्रयोग हुँदै आएका सैन्यस्थल भएको दाबी गरेका छन् ।
तारारले पाकिस्तानले आफ्नो सार्वभौम अधिकार रक्षाका लागि ‘सटीक, नियन्त्रित र अनुपातिक’ कारबाही गरेको बताए। उनकाअनुसार आक्रमण पाकिस्तानमाथि भएको भनिएको ड्रोन आक्रमणसँग सम्बन्धित पहिचान गरिएका सैन्य लक्ष्यमा मात्र केन्द्रित थियो । पाकिस्तानले बुधबार अफगानिस्तानबाट आएका आठ ड्रोन आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको र ती सबैलाई खसालेको जनाएको थियो ।
अफगानिस्तानले भने पाकिस्तानी हवाई आक्रमणको विरोध गर्दै उचित जवाफ दिने चेतावनी दिएको छ । अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले कुनार र पक्तिका प्रान्तमा पाकिस्तानी आक्रमणबाट नागरिक हताहत भएको दाबी गरेका छन् ।
