पोखरा,
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. २ बाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि शंकरप्रसाद बास्तोलाले उम्मेदवारी घोषणा गरेका छन्।
वडा तहबाट नेपाली कांग्रेसको राजनीतिक यात्रा सुरु गरेका बास्तोलाले पार्टीको १३औँ महाधिवेशनमा क्षेत्रीय सचिवको जिम्मेवारी सम्हालेका थिए। उनी नेपाली कांग्रेसका तर्फबाट पोखरा महानगरपालिका–४ को वडाध्यक्षसमेत भइसकेका छन्।
त्यसैगरी, १४औँ महाधिवेशनमा बास्तोला गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भई जिम्मेवारी निर्वाह गरेका थिए।
आगामी असोज १० गते महाधिवेशन प्रतिनिधि चयनका लागि निर्वाचन हुने कार्यतालिका रहेको छ। सोही निर्वाचनलाई लक्षित गर्दै बास्तोलाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

उम्मेदवारी घोषणा गर्दै बास्तोलाले आफ्नो राजनीतिक यात्रा पद प्राप्तिका लागि मात्र नभई पार्टी र संगठनप्रतिको निरन्तर जिम्मेवारी तथा प्रतिबद्धताको यात्रा भएको बताएका छन्।
उनले कांग्रेसका अग्रजहरूको अनुभव, त्याग र योगदानलाई सम्मान गर्दै युवा पुस्ताको ऊर्जा, जोश र नवीन सोचलाई पार्टी संगठनसँग जोडेर अघि बढ्ने बताएका छन्।
“संगठनलाई थप सुदृढ, एकताबद्ध र समयअनुकूल बनाउने अभियानमा म निरन्तर लागेको छु। अझै सक्रिय रहेर देश र नेपाली कांग्रेसका लागि काम गर्नेछु,” बास्तोलाले भने।
पार्टी संगठनलाई थप प्रभावकारी बनाउन निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै उनले अग्रज नेता, कार्यकर्ता, साथीभाइ, शुभेच्छुक तथा क्षेत्रीय प्रतिनिधिहरूको साथ, सद्भाव र विश्वासका लागि अपिल गरेका छन्।
बास्तोलाले आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढाउने निर्णय पार्टी संगठनमा विगतमा निर्वाह गरेको जिम्मेवारी र आगामी दिनमा थप सक्रिय भएर काम गर्ने प्रतिबद्धताको निरन्तरताका रूपमा प्रस्तुत गरेका छन्।