काठमाडौं :
आगामी फागुन २ गते अर्थात ‘भ्यालेन्टाइन डे’को अवसर पारेर दुई ठुला व्यानरका फिल्म एक साथ प्रदर्शनमा आउने भएका छन्। अभिनेता दयाहाङ राई अभिनीत फिल्म ‘दुःखी आत्मा’ र अभिनेता अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ एकसाथ प्रदर्शनमा आउन लागेका हुन्। शुक्रबार ‘दुःखी आत्मा’टिमले फिल्मको प्रदर्शन फागुन २ गतेलाई प्रदर्शन मिति तय गरेको हो। यस कारण दया र अनमोलबीचको फिल्म हलमा भिड्न लागेका हुन्।
अनमोल अभिनित ‘जेरी अन टप’को प्रदर्शन मिति छायांकनमा जानुभन्दा अगावै तोकिसकेको थियो। ‘दुःखी आत्मा’को भने छायांकन सकिएर यतिबेला पोस्ट प्रोडक्सनको काम भइरहेको छ। दुवै फिल्ममा अभिनेत्री आँचल शर्मा मुख्य भूमिकामा छन्।
‘छ माया छपक्कै’, ‘नाङ्गो गाउँ’, ‘२ नम्बरी’ जस्ता सफल फिल्मका निर्देशक दीपेन्द्र लामाको निर्देशनमा तयार भएको ‘दुःखी आत्मा’मा दयाहाङ र आँचलसहित अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई लगायतको अभिनय छ।
फिल्मको निर्माता हिमाल कडरिया हुन्। कार्यकारी निर्मातामा भने सुदीप ढकाल छन्। यसमा आलोक शुक्लाको छायांकन छ।