सुचना, समाचार र मनोरन्जन

व्यवसायीको हकहितका लागि दुर्गा बरालको उम्मेदवारी

पोखरा,

पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन नजिकिँदै जाँदा चुनावी सरगर्मी बढेको छ। आगामी भदौ २० र २१ गते हुने महाधिवेशनमा व्यवसायी दुर्गा बरालले कार्यसमिति सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

‘व्यवसायीको बलियो आवाज, साझा प्रतिबद्धता’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिनुभएका बराल अमरसिंहचोकस्थित मानसी गिफ्ट एण्ड कस्मेटिकका सञ्चालक हुनुहुन्छ। उहाँले व्यवसायीका हकहित, अधिकार तथा व्यावसायिक समस्यालाई प्राथमिकताका साथ उठाउँदै आएको बताउनुभएको छ।

बरालले कस्मेटिक व्यवसायी संघ कास्कीको निवर्तमान अध्यक्षका रूपमा जिम्मेवारी सम्हालिसक्नुभएको छ। उहाँ पोखरा उद्योग वाणिज्य संघको २०८१–०८३ कार्यकालमा वस्तुगततर्फ कार्यसमिति सदस्यसमेत रहनुभएको थियो। त्यसैगरी नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति, महिला उद्यमी संघ नेपाल कास्की तथा कास्की पोखरा हस्तकला संघमा समेत उहाँ आबद्ध हुनुहुन्छ।

अघिल्लो कार्यकालमा कार्यसमिति सदस्यका रूपमा रहँदा स्थानीय व्यवसायीले भोग्दै आएका कर प्रणाली, बजार व्यवस्थापन, व्यवसायिक समस्या तथा महिला उद्यमीका मुद्दालाई नीतिगत तहमा पुर्‍याउन पहल गरेको बरालको दाबी छ।

व्यवसायीका साझा समस्या समाधान, व्यवसायिक वातावरण निर्माण र समग्र व्यवसायीको आवाजलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने उद्देश्यले उम्मेदवारी दिएको उहाँले बताउनुभएको छ। बरालको उम्मेदवारीलाई पोखराको व्यावसायिक क्षेत्रमा अनुभव र संस्थागत भूमिकाका आधारमा अर्थपूर्ण रूपमा हेरिएको छ।

Leave A Reply

Your email address will not be published.