सुचना, समाचार र मनोरन्जन

अमेरिकाको ‘डीभी लटरी’ योजना स्थगित

अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित गरेको छ । ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जानेगरी गोलीकाण्ड भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ग्रीन कार्ड लटरी’ योजना स्थगित गर्ने निर्णय गरेका हुन् ।

ब्राउन युनिभर्सिटी घटनाका संदिग्ध ४८ वर्षीय पोर्चुगिज नागरिक क्लाउडियो नेभेस भालेन्ते बिहीबार मृत अवस्थामा फेला परेका थिए । उनी सन् २०१७ मा विविधता लटरी आप्रवासी भिसा कार्यक्रम (डीभी) मार्फत् अमेरिका प्रवेश गरी ग्रीन कार्ड पाएका थिए ।

होमल्यान्ड सेक्युरिटी सचिव क्रिस्टी नोएमले ट्रम्पको निर्देशनमा उक्त भिसा योजना रोकिएको जानकारी दिइन् । अब कुनै पनि अमेरिकीलाई हानि नहोस् भन्ने सुनिश्चित गर्न यस्तो निर्णय गरिएको उनको भनाइ छ ।

अमेरिकी अधिकारीहरूका अनुसार नेभेस भालेन्तेले यसै हप्ता पोर्चुगिज मूलका म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) का प्राध्यापक नुनो लुरेइरोको पनि हत्या गरेको विश्वास गरिएको छ।

यो कार्यक्रमअन्तर्गत अमेरिकामा आप्रवासन दर कम भएका देशका आवेदकहरूमध्येबाट चिठ्ठा प्रणालीमार्फत् प्रत्येक वर्ष अधिकतम ५० हजार भिसा उपलब्ध गराइन्छ । नेपालीहरू पनि डीभी परेर अमेरिका जाने र ग्रिनकार्ड पाएर बस्ने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.