सुचना, समाचार र मनोरन्जन

गैरआवासीयलाई नागरिकता समृद्धिमा सहभागिता

गैरआवासीय नेपालीलाई उत्साहित गरेको खण्डमा नेपालमा वैदेशिक लगानीको आमन्त्रण गर्न सजिलो हुने छ । विकसित देशको प्रविधि र पुँजी, सीप र सम्पत्तिलाई नेपालको समृद्धिमा लगाउने ढोका खुल्ने छ । आर्थिक विकासमा गैरआवासीय नेपालीबाट योगदानको अपेक्षा गर्न सकिने छ । मातृभूमिप्रतिको माया र दोस्रो पुस्ताको अस्तित्वको लागि पनि यसले सहयोग पुग्ने अनुमान गर्न सकिन्छ ।

सम्पादकीय/

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनआएएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यलाई बालुवाटारमा गैरआवासीय नेपाली नागरिकता दिएसँगै लामो समयदेखि थाँती रहेको मुद्धा सम्बोधन भएको छ । सबै राजनीतिक दलले धेरैपटक गैरआवासीय नेपाली नागरिकको माग पूरा गर्ने बताए पनि प्रधानमन्त्री दाहालको कार्यकालमा कार्यान्वयन भएको छ । विदेशी मुलुकको नागरिकता लिए पनि साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता पाएको व्यक्तिले आर्थिक, समाजिक तथा साँस्कृतिक अधिकारको उपयोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था नागरिकता सम्बन्धी ऐनको दफा ७ (क) १ मा उल्लेख छ । नेपालको संविधान २०७२ र नागरिकता सम्बन्धी ऐनको मर्मका आधारमा नागरिकता प्रदान गरिएको हो ।

गैरआवासीय नेपलाीलाई नेपालको नागरिकता प्रदान गरेकोमा केही विमतिको स्वरहरू आएका छन् । नागरिकतालाई राष्ट्रियतासँग जोड्ने धङधङगी र केवल ढुङ्गामाटोमा मात्रै राष्ट्रियता देख्ने परम्परागत मानसिकताले विरोधको बतास चले पनि समृद्ध समाजका लागि नागरिकता वाधक होइन साधक हुन सक्छ । यद्यपि आफ्नो थातथलो छोडेर अवसरका लागि संसारभर छरिएर रहेका नेपालीले नेपालको समृद्धिका लागि ठोस योगदान दिएको खण्डमा विमतिहरू सहमतिमा रूपान्तरण हुन सक्छन् । नेपालको संविधान २०७२ को धारा १४ मा गैरआवासीय नेपालीलाई नेपालको नागरिकता दिने प्रावधान रहेको छ । नागरिकतासम्बम्बन्धी ऐन, २०६३ असोज ४ मा संशोधन भएपछि यसघडी कार्यान्वयनमा आएको हो ।

गैरआवासीय नेपाली भए पनि सामाजिक र साँस्कृतिक अधिकारसँगै आफ्नो पैतृक सम्पत्तिको उपयोग गरिरहेका छन् । नेपालको नागरिकता पाउनुले मातृभूमिप्रतिको भावनात्मक सम्बन्ध अझ् प्रगाढ हुने छ । अपनत्वको बोध हुने छ । सन्तुष्टिको सर्वोच्च देउरालीमा पुगेको महसुस हुने छ । गैरआवासीय नेपालीले राजनीतिक सहभागितावाहेक आर्थिक, सामाजिक, साँस्कृतिक अधिकार उपभोग गर्दा राष्ट्रलाई नोक्सान हुँदैन् । विदेशी नागरिकता लिएका नेपालीहरूले नेपालको नागरिकता पाउँदा राजनीतिक दलको समर्थक भएर दवाव र प्रभाव पार्नसक्ने कतिपय सवालहरू भने पेचिलो हुन सक्छ । त्यसघडी यसको जस लिनबाट राजनीतिनक दल पन्छिन सक्छन् ।

गैरआवासीय नेपालीले नेपालको नागरिकता पाए पनि राजनीति गर्न, सरकारी पदमा बस्न र मताधिकार प्रयोग गर्न भने पाउने छैनन् । यद्यपि नेपालमा आफ्नो सम्पत्ति राख्न, उद्योग व्यवसाय र व्यापार गर्न भने पाउने व्यवस्था गरिएको छ । सूचना र प्रविधिको तीब्र विकाससँगै विश्व नै एउटा गाउँको रूपमा परिचित भएको नयाँ सदीमा आफ्नो घरदेश छोडेर विश्वका विभिन्न मुलुकमा पुगी सिप र सम्पत्ति, प्रविधि र पुँजी आर्जन गरेपछि स्वदेश फर्केर उद्यममा लाग्छु भन्नु गलत होइन तर वाचाअनुसार काम भएन भने न त नेपालीले पत्याउँछ र न त मातृभूमिले । मातृभूमिको ऋण तिर्ने यो उन्नत मौका हो, बफदार बन्ने उपयुक्त समय हो, यसको सदुपयोग नागरिकता पाएका नागरिकले ढुक्कसँग गरी अब्बल उदाहरण बन्नुपर्छ । नागरिकतासँगै जिम्मेवारी पनि थपिएको कुरालाई विर्सन मिल्दैन् । ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने नाराले सार्थकता पाउनुपर्छ । नागरिकता केवल भावनात्मक रूपमा मात्रै नभइ कानुनी रूपमा पनि कार्यान्वयन भएको छ । विगत दुई दशकदेखिको मुद्धा टुङ्गोमा पुगेको छ । अब गैरआवासीय नेपालीले आफ्नो कर्तव्य र दायित्व गम्भीर भएर पूरा गर्नुपर्छ ।

गैरआवासीय नेपालीलाई उत्साहित गरेको खण्डमा नेपालमा वैदेशिक लगानीको आमन्त्रण गर्न सजिलो हुने छ । विकसित देशको प्रविधि र पुँजी, सीप र सम्पत्तिलाई नेपालको समृद्धिमा लगाउने ढोका खुल्ने छ । आर्थिक विकासमा गैरआवासीय नेपालीबाट योगदानको अपेक्षा गर्न सकिने छ । मातृभूमिप्रतिको माया र दोस्रो पुस्ताको अस्तित्वको लागि पनि यसले सहयोग पुग्ने अनुमान गर्न सकिन्छ । विश्वका धेरै मुलुकले आफ्ना नागरिकलाई दोहोरो नागरिकताको सुविधा पनि दिएको तथ्यलाई विर्सन मिल्दैन् । तर नेपालले भने राजनीतिमा हुने चलखेल र कालो धनको शुद्धिकरणलाई नियमन गर्नुपर्छ । विदेशी सेवा सुविधा लिएका गैरआवासीय नेपालीले नेपाली नागरिकताको दुरुपयोग गरेमा नेपालको अन्तर्राष्ट्रिय वदनाम हुन सक्छ । यसका लागि सरकारले निरन्तर अनुगमन गरिहरनु पर्छ । विश्वको जुनसुकै भूगोललाई कर्मभूमि बनाए पनि गैरआवासीय नेपालीले आफू जन्मेको माटो र हिँडेको बाटोलाई माया गर्नु जन्मभूमिको गुन तिर्नु पनि हो भन्ने मर्मलाई आत्मसात गर्न अपरिहार्य छ ।

Leave A Reply

Your email address will not be published.