सुचना, समाचार र मनोरन्जन

पद्मिनी एकादशी आज, सन्तान सुख र पारिवारिक समृद्धिका लागि विशेष महत्व

हरेक तीन वर्षमा पर्ने मलमास अर्थात् अधिक मासको शुक्ल पक्षमा आउने पद्मिनी एकादशी आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । भगवान विष्णुको आराधना गरिने यो एकादशीलाई धार्मिक दृष्टिले अत्यन्त पुण्यदायी मानिन्छ ।

धार्मिक मान्यताअनुसार पद्मिनी एकादशीको व्रत बसेमा सन्तान प्राप्ति, पारिवारिक सुख, समृद्धि तथा मनोकामना पूरा हुने विश्वास रहेको छ । यस एकादशीको महिमा विशेषगरी राजा कार्तवीर्य अर्जुनको जन्मसँग जोडिएको पाइन्छ । पुराणहरूमा वर्णन भएअनुसार यही व्रतको प्रभावबाट राजा कार्तवीर्य अर्जुनले दिव्य शक्ति र ऐश्वर्य प्राप्त गरेका थिए ।

व्रत र पूजा विधि

पद्मिनी एकादशीका दिन भक्तजन बिहान सबेरै उठेर स्नान गरी शुद्ध वस्त्र धारण गर्छन् । यस दिन निर्जल वा फलाहार व्रत बस्ने परम्परा रहेको छ ।

भगवान विष्णु र माता लक्ष्मीको विधिपूर्वक पूजा गर्दै तुलसीपत्र, फूल, फलफूल तथा धूप–दीप अर्पण गरिन्छ । घरघर तथा मन्दिरहरूमा विष्णु सहस्रनाम, भजन–कीर्तन र धार्मिक पाठ गर्ने चलन छ ।

धार्मिक विश्वासअनुसार व्रतको रातभर भगवानको स्मरण गर्दै जाग्राम बस्नु शुभ मानिन्छ । द्वादशीका दिन ब्राह्मणलाई भोजन गराई दान–पुण्य गरेपछि व्रत पारण गर्ने परम्परा रहेको छ ।

धार्मिक महत्व

पद्मिनी एकादशीलाई अन्य एकादशीभन्दा विशेष फलदायी मानिन्छ, किनकि यो अधिक मासमा मात्र पर्ने गर्दछ । धर्मशास्त्रअनुसार यस दिन श्रद्धापूर्वक व्रत र पूजा गरेमा पाप नाश हुने, घरपरिवारमा सुख–शान्ति कायम हुने तथा आध्यात्मिक उन्नति प्राप्त हुने विश्वास छ ।

Leave A Reply

Your email address will not be published.