सुचना, समाचार र मनोरन्जन

लाविम मलमा ‘एक्लो’ ट्रेलर आउट, स्टारकास्टको भव्य उपस्थिति

काठमाडौँ :

नेपाली फिचर फिल्म ‘एक्लो’ को ट्रेलर ललितपुरको लाविम मलमा आयोजित विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको छ। झन्डै ३ मिनेट लामो ट्रेलर ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। ट्रेलर रिलिज कार्यक्रममा निर्देशक तथा लेखक प्रदीप शाहीसँगै मुख्य कलाकारहरूको उपस्थिति थियो।

कार्यक्रममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरीलगायत कलाकारको सहभागिता थियो। चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका दिनेश डीसीले विषयवस्तु मनपरेपछि आफ्नो व्यस्ततामा पनि फिल्ममा योगदान दिएको बताए। निर्देशक शाहीले ‘एक्लो’ लाई टेक्निकल र अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई पहिचान दिने चलचित्रको रूपमा निर्माण गरिएको बताए। शाहीले यसअघि ‘अन्तिम संस्कार’ र ‘गोर्खा: ब्रेभरी’ निर्देशन गरिसकेका छन्। उनले पूर्वीय आध्यात्मिकता र पश्चिमी जनराका तत्वलाई मिसाएर ‘एक्लो’ तयार पारेको बताए।

फिल्म काभ्रेको पनौती र मुस्ताङमा छायांकन गरिएको हो। साइन्स–फिक्शनमा आधारित कथामा सन् २०३० सम्म खतरनाक भाइरसका कारण मानवले पृथ्वी छाडेको भविष्य देखाइन्छ। त्यसको ६० वर्षपछि बेलायती अन्तरिक्षयात्री ज्याक (जेमी बेकन) र उनको टिम हिमालय क्षेत्रमा क्रास–ल्यान्डिङ गर्छ। उनीहरूले गुफाभित्र लुकेको शहर र त्यहाँ बस्ने पौराणिक हिमालय संरक्षक (प्रदीप खड्का) लाई भेटेपछि कथा अगाडि बढ्छ। बाँकी कथा दोस्रो अध्यायमा प्रस्तुत गरिने निर्देशकले बताए।

फिल्मले यसअघि कान्स फिल्म फेस्टिभलको ७८औँ संस्करणमा विभिन्न कार्यक्रममा सहभागिता जनाइसकेको छ। डिसेम्बर २८ मा अमेरिकाको न्यूयोर्कस्थित Museum of the Moving Image मा यसको ऐतिहासिक प्रिमियर तय भएको छ।

‘एक्लो’ आगामी पुस १७ गतेदेखि नेपालसहित विश्वभर प्रदर्शनमा आउँदैछ।  फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसीलगायत अनेक कलाकारको अभिनय छ। साथै बेलायती अभिनेता जेमी बेकनको महत्वपूर्ण भूमिका समावेश गरिएको छ।

एनआरएन समूहको लगानीमा बनेको यस चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्। छायांकन बाबु श्रेष्ठ, द्वन्द्व निर्देशन राजु तामाङ, सेट डिजाइन राजु पेन्टर, कला निर्देशन सन्तोष लामा र प्रोडक्सन डिजाइन द्रोणप्रसाद पौडेल ‘ठेउके’ रहेका छन्।

Leave A Reply

Your email address will not be published.